४५ लागिन् पूर्वयुवराज्ञी हिमानी शाहः के पूर्वयुवराज पारससँग सम्बन्ध सुध्रिएको हो?


काठमाडौं– पूर्वयुवराज्ञी हिमानी शाह ४५ बर्ष लागेकी छन्। शालिन देखिने हिमानी मिडियामा त्यति खुल्दिनन्। सामाजिक काममा सक्रिय रहेकी उनी अघिल्लो साता जनकपुरमा जाँदा राजनीतिक विषयमा बोल्न चाहिनन्।

केही बालबालिकासँग बसेर कक्षामा समेत अध्ययन गरेकी उनी शिक्षाका क्षेत्रमा सामाजिक सहयोगमा अग्रसर छिन्। उनको जन्म १ अक्टोबर १९७६ मा भएको थियो। दुई छोरी र एक छोराकी आमा हिमानीको पारिवारिक सम्बन्धमा भने खटपट आएको थियो। अहिले पनि पूर्वयुवराज पारस शाह र उनी अलग–अलग बस्छन्।

दम्पत्तीबीचको टुटेको नाता अहिलेसम्म पनि जोडिन सकेको छैन। कागजी रुपमा नछुटिए पनि यी दम्पत्ती अलग–अलग मात्र बस्दैनन्, बिरलै आमने सामने हुन्छन्। केही औपचारिक कार्यक्रममा यदाकदा देखिएका उनीहरू परिवारसँगको सामूहिक भेटमा पनि निर्मलनिवास बाहिर मात्र देखिने गरेका छन्।

एक कुमारी माताले हिमानी र पारससँग बस्दा अनिष्ट हुने भविष्यबाणी गरिन्। उनकै भविष्यवाणीका आधारमा पारस निर्मल निवास प्रवेश गर्न पाएनन्। पत्नीसँग आमने सामने हुने मौका पाएनन्।

ज्योतिषीय सिद्धान्तअनुसार पारस र हिमानीको अहिले ग्रह नमिलेको कुमारी माता सविता सरु आचार्यले ठोकुवा गरिन्।

‘सरकारहरू साथमा नभएकै राम्रो’ हिमानीको हात हेर्दै ती माता आचार्यले भनेकी थिइन्,‘सँगै बस्दा ठूलै अनिष्टको खतरा छ, अलग्गिएर बस्नु सुखद् छ ।’

धनकुटाकी स्थानीयवासी माताले पूर्वराजा ज्ञानेन्द्रलाई छोरोबाट फलिफाप नहुने कुरा बताएकी थिइन्। हिमानीको ग्रहदशा हेर्दा पनि ससुराको झैँ योगफल देखिएको उनको कथन थियो।

गोरखामा हिमानी ट्रष्टले बनाएको विद्यालयको भवन उद्घाटनका क्रममा पारस र हिमानी शाह आमने सामने थिए।

पूर्ववडामहारानी कोमल राज्यलक्ष्मी शाहले उद्घाटन गरेको नयाँ भवनको औपचारिक कार्यक्रममा पति पत्नीको जम्काभेट भएको थियो। लोकलाई देखाउनका लागि उनीहरूबीच साधारण संवाद भयो त्यो त्यसअघिको एक दशक र त्यसपछि हालसम्मका लागि दुर्लभ दृश्य थियो।

राजतन्त्र अन्त्य भई गणतन्त्र घोषणा हुनासाथ पारस प्रेमिका कन्निकासँग थाइल्यान्डमा लामो समय बसे। सोही बेलादेखि पारस–हिमानीको सम्बन्धमा खटपट देखिएको थियो।

झन्डै एक दशकभन्दा लामो समयदेखि पारस–हिमानीको भौतिक सम्बन्ध नभएको देखिन्छ। भावनात्मक सम्बन्धमा पनि चढाव छैन बरु उतार मात्रै छ। केही बर्षदेखि पारस नेपालमै भए पनि हिमानीसँग नजिक हुने अवसर पाएका छैनन्। एक हिसाबले उनलाई निर्मलनिवासमा हिमानी भएका बखत प्रवेशमा निषेध छ।

तर आजभोली पारिवारिक जमघटमा भने यी दम्पत्तीको भेट हुने गरेको छ।

हिमानी निर्मलनिवासका विविध धार्मिकदेखि अनेक सम्मेलनमा भने पूर्वराजा रानीसँग प्रायः सँगै देखिने गरेकी छन्। हालै मात्र उनी नेपाल आएकी थिइन्। छोरीहरूको शिक्षाका लागि उनी थाइल्यान्डमा लामो समय बसेकी थिइन्।

प्रतिक्रिया