नेकपा विवादको निर्णायक मोडमा अध्यक्षहरू ओली र प्रचण्डलाई राष्ट्रपति भण्डारीले भेट्नुको अर्थ


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद अति नै गहिरो भएको बेला राष्ट्रपति विद्यादेवी भण्डारी फेरि सक्रिय भएकी छन्।

भोलीका लागि बोलाइएको सचिवालय बैठक निर्णायक हुने बताइएको बेला विहीबार भण्डारीले अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छन्।

नेकपाभित्र देखिएका अन्तरविरोध हल गर्नका लागि पटक–पटक राष्ट्रपति भण्डारी सक्रिय रहेको भनी नेकपा भित्र र बाहिर आलोचना भइरहेका बेला विहीबार भएको भेटलाई अझ अर्थपूर्ण रुपमा बुझिएको छ।

विहान प्रधानमन्त्री ओलीसँग परामर्श गरेकी उनले दिउँसो प्रचण्डलाई शितलनिवासमा बोलाएर अहिले विभाजनको दिशामा नजानका लागि सुझाव दिएकी थिइन्।

‘सरकारले चाल्न सक्ने सम्भावित कदमका विषयमा प्रचण्डलाई सजग गराउँदै तत्काल विवाद समाधानका लागि सक्रिय हुनका निम्ति राष्ट्रपति भण्डारीले सुझाव दिएको अनुमान गरिएको छ’, उच्च स्रोतले भन्यो,‘तर यो सक्रियता राजनीतिक जस्तो देखिएका कारण राष्ट्रपति तटस्थ बसेको नै ठिक हुने थियो।’

राष्ट्रपतिसँग भएको भेटबारे आफ्ना समूहका नेतालाई प्रचण्डले शुक्रबार ब्रिफिङ गर्नेछन्। अब वार कि पारको अवस्थामा रहेको नेकपा सचिवालयले प्रधानमन्त्री ओलीलाई कारबाहीको निर्णय गर्ने वा सचिवालयमा रहेका प्रस्तावलाई स्थायी समितिमा लैजाने निर्णय गर्ने तयारी गरेको थियो।

यसअघि पनि बेलामौका नेकपा अध्यक्षहरूमा देखिएको विवाद समाधानका निम्ति राष्ट्रपति भण्डारी सक्रिय रहेकी थिइन्। त्यसबेला पनि उनले ओली र प्रचण्डलगायतका कतिपय नेतालाई बोलाएर भेटेकी थिइन्। पछिल्लो पटक विवाद चर्किएपछि नेकपा उपाध्यक्ष बामदेव गौतमलाई समेत शितलनिवासमा बोलाएर समस्या समाधानका निम्ति सक्रिय हुन भण्डारीले सुझाव दिएकी थिइन्।

अघिल्लो पटक स्थायी समितिमा विवाद हुँदा बैठक चलिरहेकै बेला शितलनिवासमा ओली, प्रचण्ड, महासचिव विष्णु पौडेललगायतलाई पनि बोलाइएको थियो।

‘नेकपा विभाजनले मुलुकमा संकट आउने देखेरै राष्ट्रपति चिन्तित बन्नु भएको हो। उहाँले राजनीतिक हस्तक्षेप भन्दा पनि विवादपछि आउने सम्भावित घटनाक्रमलाई रोक्नु अभिभावको हिसाबले परामर्श र सुझावमा उहाँ चल्नु अनुचित होइन’, उच्च स्रोतले भन्यो,‘सत्तारुढ पार्टी भएका कारण त्यसभित्रको विग्रहले मुलुकलाई संकटमा जान नदिन अभिभावकले सम्झाउने काम गर्छन्।’

प्रतिक्रिया