

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज (आइतबार) पनि बस्दै छ। ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक सुरु हुनेछ।
जारी बैठकमा राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको छलफल सकिएको एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। उनका अनुसार शनिबार १० समूहमा विभाजित टोली नेताले समूहगत छलफलपछि आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए।
उक्त प्रस्तुति सकिएसँगै शनिबारको बैठक स्थगित गरेर आइतबार बस्ने निश्चित भएको नेता भट्टराई जानकारी दिए।
समूहगत धारणा राख्ने अधिकांश नेताहरुले सत्तरी वर्षे उमेर हद कायम गरेर जानुपर्ने सुझाव दिएको उनले बताए। त्यस्तै टोली नेताले पार्टीको सम्पूर्ण ध्यान पार्टी निर्माणमा केन्द्रित गर्नुपर्ने सुझाव पनि दिएको उनको भनाइ छ।
भट्टराईका अनुसार आइतबार बस्ने बैठकले प्रतिवेदनमा आएका सुझावको आधारमा राजनीतिक प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनमा महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्तावमा उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिने छन् ।
नेताहरूले जवाफ दिएपछि बैठकले प्रतिवेदन पारित गर्ने बुझिएको छ। शुक्रबारदेखि सुरु बैठकमा भूगोलका सात प्रदेशका सात तथा जनसङ्गठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहले तीन वटै प्रतिवेदनमाथि समूहगत छलफल गरेका थिए।
केन्द्रीय कमिटी बैठकबाट प्रतिवेदन पारित गरिएपछि यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा ती दस्तावेज पेस हुने नेता भट्टराईले जानकारी दिए।

