

महानगरभित्रका विद्यालय आजदेखि खुल्दै

काठमाडौं — काठमाडौं महानगरभित्रका विद्यालयहरु आजदेखि खुल्ने भएका छन् । कोरोना महामारीसँगै वैशाखको दोस्रो साता बन्द भएका विद्यालयहरुलाई काठमाडौं महानगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालनको अनुमति दिएपछि आजदेखि विद्यालय खुल्ने भएका हुन् ।
दशैं आउन १० दिन पनि नरहेको अवस्थामा विद्यालय सञ्चालन गर्ने महानगरपालिकाको निर्णयलाई असान्दर्भिक भन्दै कतिपय अभिभावकहरु अन्यौलमा परेका छन् । कोरोना महामारीपछि उपत्यका बाहिर गएका विद्यार्थी र अभिभावकलाई एक साताका लागि विद्यालय आउने कि नआउने भन्दै महानगर र विद्यालय प्रशासनको निर्णयप्रति आक्रोश पोखेका छन् ।
‘कोरोनाको डर यस्तो छ, दशैं पनि आईसक्यो, एक साताको लागि डरै डरमा फेरी कसरी काठमाडौं गएर विद्यालय पठाउनु,’ एक अभिभावक भन्छन् । उनले महानगर र विद्यालय प्रशासनको यो निर्णय स्कुल फि उठाउने कुराका लागि मात्रै भएको बताएका छन् ।
तर, महानगरपालिकाको विद्यालय सञ्चालन गर्ने निर्णय बाध्यकारी भने छैन । सञ्चालन गर्न चाहने विद्यालयलाई स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न सकिने निर्णय महानगरपालिकाले गरेको छ । त्यसो त काठमाडौं उपत्यकामा यसअघि पनि केही विद्यालय सञ्चालन भैरहेका छन् ।
महानगरपालिकाले यही असोज १० गते आइतबारदेखि भौतिकरूपमा नै विद्यालय खोल्ने निर्णय बिहीबार गरेको थियो । सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर र मोडर्ना नामक कोरोना भाइरसविरुद्धको खोप दिने तयारी गरिरहेको छ ।
विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण गत वैशाखको दोस्रो सातादेखि बन्द रहेका विद्यालय भौतिकरूपमा खोल्ने निर्णय गरिएको थियो । काठमाडौं महानगरपालिका शिक्षा विभागको बुधबार बसेको बैठकले विद्यालय खोल्न अनुमति दिने निर्णय गरेको थियो ।

