नारायण खड्का मन्त्री नियुक्तिको गठबन्धन सहमतिले देखाउँछ देउवा कसरी बाँधिएका छन्


काठमाडौं– मंगलबार साँझ बसेको सत्ता गठबन्धनले गरेको एउटा सहमतिले प्रधानमन्त्री शेरबहादुर देउवाको अधिकारक्षेत्र घेराबन्दीमा रहेको प्रष्ट तस्बिर देखा परेको छ।

दुई महिनासम्म सरकार विस्तार गर्न नसकेका प्रधानमन्त्रीलाई गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले नै घेराबन्दीमा राखेको स्पष्ट भएको छ।

खासगरी गठबन्धनमा रहेका नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादवले प्रधानमन्त्री देउवाको कार्य क्षेत्राधिकारलाई खुम्च्याएको र कांग्रेसलाई कमजोर बनाउने रणनीति अख्तियार गरेको प्रतीत हुने टिप्पणी सतहमा आउन थालेका छन्।

गठबन्धनको बैठकले सरकारमा कांग्रेसबाट परराष्ट्रमन्त्रीको जिम्मेवारी नारायण खड्कालाई दिने सहमति गर्नु देउवाको अधिकारक्षेत्रमा हस्तक्षेप रहेको स्पष्ट देखिन्छ। यसअघि स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गर्दा गठबन्धनमा असन्तुष्टि हुनु पनि अर्को उदाहरण हो।

‘कांग्रेस र सभापति देउवाको नेतृत्वलाई असक्षम देखाउनका निम्ति गठबन्धनले कुनै खास निचोड निकाल्न सकेको छैन, उनी असक्षम भएको भनी हालै मात्र सर्वत्र चर्चा चलाइयो’, देउवानिकट कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्,‘गठबन्धनका अन्य दलले मन्त्रीको नाम नदिने अनि कांग्रेसको मन्त्री नियुक्तिमा पनि सहमति गर्नुपर्ने यो त अचाक्ली घेराबन्दीमा पारियो।’

यसैपनि प्रतिनिधि सभामा एमालेको अवरोध खुलाउनका निम्ति देउवाले नचालेको पहलकदमी, प्रतिनिधि सभा रोकी दल फुटाउने अध्यादेश जारी गर्नुले पनि उनको आलोचना भएको थियो।

‘चुनाव नजिकिएको छ, यस्तो बेलामा प्रधानमन्त्री रहेका बेला प्रभावकारी काम गरी कांग्रेसलाई सक्षम देखाउनुपर्नेमा गठबन्धनका नेताको लगाममा मात्र प्रधानमन्त्री रहेको सन्देश दिनु उपयुक्त होइन’, ति नेता भन्छन्,‘यो त मुलुकको कार्यकारी प्रमुखलाई बाँधेर उसको दललाई कमजोर बनाउने खेल जस्तो देखिन्छ।’

गठबन्धन सरकार बनेपछि देउवाका तर्फबाट आएको संयुक्त न्युनतम साझा कार्यक्रम पनि विवादमा तानिएको थियो। प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त कार्यक्रममा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) किन नराखेको भनी सदनमा नै प्रश्न गरेका थिए।

‘सरकारको यहि रबैयाले निरन्तरता पाउने हो भने प्रतिपक्षी दललाई चुनावमा भरपूर एजेन्डा हुनेछ, सत्तामा रहेर पनि यसअघि आफू पराजित भएको विषयलाई प्रधानमन्त्रीले हेक्का राख्नुपर्छ’, कांग्रेस उच्च स्रोतले भन्यो।

प्रतिक्रिया