

विभिन्न घटनामा ५ काे मृत्यु, एककाे शव फेला

डुबेर मृत्यु
काठमाडौं – चन्द्रागिरी नगरपालिका-१० हिरा इँटाभट्टामा काम गर्ने रनियापुर नगरपालिका-१९ घर भएका २७ वर्षीय पूर्ण बहादुर तामाङको इँटाभट्टा नजिकै ईनारमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको ओम समाज अस्पताल सिप्रदी हुँदै ललितपुरस्थित स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सिन्धुली, कमलामाई नगरपालिका-६ शिवनगर बस्ने सन्तोष नेपालीकी छोरी ८ वर्षीया सुवश्री परियारको सोही ठाउँस्थित ग्वाङखोलामा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । उक्त खोलामा डुबेर अशक्त भएको अवस्थामा बाख्रा गोठालाले देखेर खोलाबाट निकाली उनका बुबा समेतले उपचारको लागि जिल्ला अस्पताल सिन्धुली लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
बर्दिया, गुलरिया नगरपालिका-८ आशापुर बस्ने प्रमोद लोधकी छोरी १२ वर्षीया साल्मा लोधको घरबाट ३ किमि टाढा रहेको सुजरपुर नालामा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । बुबाआमासँग उक्त नाला नजिकै खेतमा गएको अवस्थामा नालामा डुबेर अशक्त भएकी उनको उपचारको लागि बर्दिया अस्पताल गुलरिया पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
करेन्ट लागेर मृत्यु
काठमाडौं, बुढानीलकण्ठ नगरपालिका-३ रुद्रेश्वरमा ढल खन्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका-४ पासिकोट बस्ने नुवाकोट घर भएका ४० वर्षीय प्रबिन तामाङको आइतबार साँझ मृत्यु भएको छ । ढलान फुटाउने मेसिनबाट करेन्ट लागि गम्भीर घाईते भएका उनको करुणा अस्पताल चुनिखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।
धनुषा, कमला नगरपालिका-३ मालपट्टीस्थित सडकमा धानको भुस राखी ल्याउँदै गरेको बा.३ ख ९६९८ नम्बरको ट्रकलाई विद्युतको तार लौरोले पन्छाउँदै अघि बढाउँने क्रममा आइतबार दिउँसो करेन्ट लागेर महोत्तरी सोनवा गाउँपालिका-५ खैरवनी बस्ने ३० वर्षीय शत्रुधन यादवको मृत्यु भएको छ ।
करेन्ट लागेर अशक्त भएका उनको उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । प्रहरी चौकी माचीबाट खटीएको प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।
मृत अवस्थामा फेला
बाजुरा, बुढीनन्दा नगरपालिका-१ सेरकोट चौरबाट करिब १ सय ५० मिटर टाढा कोदोबारीमा सोही नगरपालिका-२ कोल्टीस्थित सुजन बोर्डिङ स्कुलका शिक्षक कञ्चनपुर पुनर्बास नगरपालिका-५ “ग” गाउँ घर भएका ३५ वर्षीय गणेश रेग्मी आइतबार मृत अवस्थामा फेला परेका छन् ।

