भिन्नभिन्नै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु


काठमाडौं – भक्तपुर, झापा र सुनसरीका छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

भक्तपुर, सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित सडकमा लु.४ त ४६८२ नम्बरको ट्याक्टर ईन्जिनको भाग माथि उठी आफैं अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक भक्तपुर बालकोट बस्ने बर्दिया राजपुर घर भएका २५ वर्षीय रोशन चौधरीको मृत्यु भएको छ । ट्याक्टरको स्टेरिङमा च्यापिन गई गम्भीर घाईते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापा, अर्जुनधारा नगरपालिका-२ घर्लेनी टोलस्थित सडकमा ना.१ क ५४०० नम्बरको क्रेनबाट लडेर मदन भण्डारी लोकमार्गको पुल निर्माण गर्ने रसवागढी कन्ट्रक्सनका कामदार सप्तरी बोधेबर्साइन बस्ने ३५ वर्षीय जोगेन्द्र प्रसाद साहको आइतबार साँझ मृत्यु भएको छ । उक्त क्रेनबाट लडि क्रेनको पछाडीको चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-८ सेउती जंगलस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकल आफैँ अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार मोरङ ग्रामथान गाउँपालिका-३ बस्ने २१ वर्षीय रोशन भगतको मृत्यु भएको   छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट नरसिंह अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया