इकागज प्रधानसम्पादक थापा र कार्टुनिस्ट सायमीले अस्वीकार गरे विभूषण


काठमाडौं – सातौं संविधानदिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९ सय ३ जनालाई विभूषण तथा पदक प्रदान गरेको घोषणा भइरहँदा पदक अस्वीकार गर्ने पनि बढ्दै गएका छन् ।

यसै शिलशिलामा इकाजडटकमका प्रधानसम्पादक हरिबहादुर थापाले पनि आफूलाई प्रदान गरिएको सुप्रबल जनसेवाश्री पदक अस्वीकार गरेको घोषणा गरेका छन् । थापाले सामाजिक सञ्जालमार्फत् आफूलाई पटक पटक पदक बारे सोधिने गरेकोमा यसपटक नसोधिकन पदकका लागि छनौट गरिएको बताउँदै सरकारलाई धन्यवाद समेत दिएका छन् ।

थापाले अगाडि लेखेका छन्, ‘जनप्रतिनिधिले लेखेको हाम्रो संविधान सातौँ वर्षमा प्रवेश गरेको अवसरमा संविधानवाद अझ सुदृढ हुँदै जाओस्, लोकतान्त्रिक शैली व्यवहारमा देखिँदै जाओस् । सबैलाई मेरो हार्दिक शुभकामना ।

आज सातौँ संविधान दिवसका अवसरमा पदक पाउनेको सूचीमा मेरो पनि नाम रहेछ, सम्झेकामा सरकारलाई धन्यवाद ।

विगतमा मलाई पदकका लागि पटकपटक सोधिएको र मैले अस्वीकार गरिआएको जानकारी गराउँछु । यसपालि भने सोध्दै नसोधी मेरो नाम आएछ । सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु ।

मैले मानपदवी, अलंकार, पदकको विकृति, पदक पाउनेको सार्वजनिक सुयोग्यताबारे समाचार–विश्लेषण–पुस्तकमार्फत लामो समयदेखि प्रश्न उठाइरहेको छु । राज्यले सम्मान नै गर्नुहुन्न भन्ने होइन, तर सम्मान स्वयं सम्मानित हुने गरी मात्र सम्मान गर्नुपर्छ । कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्छ, विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ ।’

त्यस्तै पदक अस्वीकार गर्ने अर्का पनि सञ्चारमाध्यमसँगै सम्बन्धित व्यक्ति रहेका छन् । चर्चित कार्टुनिस्ट रविन सायमीले पनि आफूलाई प्रदान गर्न लागिएको ‘प्रवल जनसेवा श्री’ अस्वीकार गर्ने जनाएका हुन् ।

उनले पनि सामाजिक सञ्जालमार्फत् जानकारी गराउँदै लेखेका छन्,  ‘सरकारले मलाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु ।’

प्रतिक्रिया