दरबारमार्गको मुटुमै चलिरहेको छ अवैध क्यासिनो, प्रशासन के गर्दैछ?


काठमाडौं– दरबारमार्गको मुटुमै अवैध हिसाबले क्यासिनो सञ्चालनमा रहँदा प्रशासन मौन बसेको आरोप लागेको छ।

होटल अन्नपूर्णस्थित मलेसियाको चेन क्यासिनो प्यालेस अवैध तरिकाले सञ्चालनमा रहेको छ। भारतीयलगायतलाई लक्षित गरिएको भए पनि होटल अन्नपूर्ण भत्काएपछि उक्त क्यासिनो अवैध भएको हो।

कोरोना महामारी सुरु भएपछि विगत दुई बर्षदेखि होटल बन्द थियो। बन्द भएको होटल भत्काउन सुरु गरिएको छ तैपनि क्यासिनो सञ्चालनमा भने रोक लगाइएन। उक्त क्यासिनोका म्यानेजरका रुपमा विनय साह रहेका छन्।

उच्च तहका राजनीतिक र प्रशासनिक व्यक्तिसँग सम्बन्ध राख्ने साहले बलमिच्याँईका आधारमा क्यासिनो चलाइरहेको बताइएको छ। पर्यटन मन्त्रालयको अनुमति भएको दाबी गरिए पनि जहाँ होटल छैन त्यहाँ क्यासिनो चलाउन मिल्दैन। होटलबिनाको क्यासिनो केबल अवैध जुवाघर ठहरिने जानकारहरू बताउँछन्।

‘पाँचतारे होटलमा विदेशी पाहुनालाई लक्षित गरी क्यासिनो सञ्चालनको अनुमति दिने हो। पाहुनाको मनोरञ्जनका लागि सञ्चालन अनुमति हुने भएकाले होटल नै नहुँदा सञ्चालनको अनुमति नेपालको कानुनले दिँदैन’, उच्च अधिकारी भन्छन्,‘त्यो जुवाघरमा मात्र सीमित भएको क्यासिनो चलाउन मिल्दैन।’

प्रहरी र प्रशासनले अहिलेसम्म हस्तक्षेप नगर्दा साहले निर्वाध रुपमा क्यासिनो चलाइरहेको स्थानीयको गुनासो छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) अशोक सिंहले यसबारेमा बुझिरहेको र कानुनसम्मत हिसाबले कारबाहीको प्रक्रिया अघि बढाइने बताएका छन्।

प्रतिक्रिया