

एमालेमा अल्मलिएका असल मानिसहरु ढिलो-चाँडो हामीसँगै आउँछन् : माधव नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले अहिले एमालेमा बसेकाहरु ढिलो-चाँडो आफ्नो पार्टीमा आउने बताएका छन् ।
शुक्रबार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी भेलामा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
उनले भने, ‘कतिपय मानिसहरु अल्मल्लिएर एमालेमै बसेका छन् तर असल भावना भएका मानिसहरु ढिलो–चाँडो एकीकृत समाजवादीमा आउने छ ।’
उनले विगतमा एमालेभित्र बनेका समानान्तर कमिटीहरु समाजवादीमा रुपान्तरित भइरहेको भन्दै आफ्नो पार्टी नितान्त नयाँ नभएको उल्लेख गरे । पार्टीको ७७ वटै जिल्लामा संगठन बनिरहेको पनि उनले जानकारी दिएका छन् । उनले भने, ‘पार्टीको ७७ वटै जिल्लामा संगठनहरु बनिरहेका छन् । हिजो हामीले २०७७ चैत्र ४ र ५ गते पश्चात बनाएका पार्टी र सबै जनवर्गीय संगठनहरु रुपान्तरित भइरहेका छन् । त्यस अर्थमा यो नितान्त नयाँ पार्टी होइन ।’
अध्यक्ष नेपालले व्यवसायीहरुलाई राष्ट्रिय अर्थतन्त्रको विकासमा सहयोग पुर्याउन पनि आग्रह गरे । उनले व्यवसायीहरुलाई जलविद्युत, पर्यटन, कृषिलगायतका क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणमा योगदान पुर्याउन उनको आग्रह छ ।

