

काठमाडौंमा असोज ५ गते कांग्रेस वडा अधिवेशन

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेस काठमाडौंले असोज ५ गते जिल्लामा रहेको १३८ वटै वडामा अधिवेशन गर्ने भएको छ । निर्वाचन अधिकृतसहितको जिल्ला कार्यसमिति बैठक बोलाएर कांग्रेस काठमाडौंले वडा अधिवेशनको तयारी शुरु गरेको छ ।
कांग्रेस काठमाडौंका जिल्ला सभापति कृष्ण सबुज बानियाँको अध्यक्षतामा ज्ञानेश्वरस्थित पार्टी कार्यालयमा बसेको बैठकले अधिवेशन प्रक्रिया शुरु गरेको हो । शनिबारसम्म काठमाडौंका सबै वडामा निर्वाचन अधिकृत खटिने गरी कामको थालनी गरिएको बानियाँले जानकारी दिएका छन् ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले गत बुधबार काठमाडौंसहित थप सात जिल्लाको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरेको थियो । योसँगै ६४ जिल्लाका कांग्रेस क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक भएको छ ।

