कांग्रेसभित्र महाधिवेशन धकेल्दै ‘अर्ली इलेक्शन’मा जाने बहस


काठमाडौं– गठबन्धन सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र ‘अर्ली इलेक्शन’मा जाने बहस सुरु भएको छ। १४ औं महाधिवेशनको प्रक्रिया जारी राखेको कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा चल्न नदिने ठहर गर्दै चुनावसम्म जाने विकल्पमा पनि बहस थालेको हो।

प्रक्रिया सुरु भएकाले ६ महिनाभित्र आम चुनाव र त्यसपछि मात्र महाधिवेशनको प्रक्रिया जारी राख्न सकिने सुझाव कतिपय नेताले प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई दिएका छन्। अहिले नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद र खासगरी एमाले विभाजन भएका बेला कांग्रेस बलियो शक्ति भएर उदाउन सक्ने भएकाले चुनावमा जानुपर्ने बहस सुरु भएको छ।

कतिपयले अर्ली इलेक्शन हुने देउवा र प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग समझदारी भएको पनि दाबी गरेका छन्। यहि कारण पनि चुनावी तयारीका लागि ओलीले विभिन्न जिल्लामा कार्यकर्ता भेलालाई सम्बोधन गरिरहेको बताइन्छ।

‘राजनीतिक संकट अझ गहिरिँदै जाने अवस्था आउने भएकाले अर्ली इलेक्शनमा जानुको विकल्प हुँदैन’, कांग्रेस नेता पूर्वअर्थमन्त्री रामशरण महतले भनेका छन्,‘मुलुक गतिहिनि अवस्थामा प्रतिपक्षको अवरोधबीच रहन सक्तैन।’

कांग्रेसभित्र चुनावी बहस सुरु भइसकेको अर्को संकेत युवा नेता प्रदिप पौडेलले गरेका छन्। छिटोगरी चुनावमा जाने वातावरण बनिरहेको पौडेलले बताएको विवरणहरूमा उल्लेख छ। सत्ता गठबन्धनमा पनि प्रधानमन्त्री देउवाले चुनावमा जानुपर्ने बाध्यता आउन थालेको बताइसकेका छन्। यसैले पनि उनले मन्त्रिपरिषद विस्तारमा त्यस्तो धेरै चासो दिएका छैनन्।

प्रतिक्रिया