


भरतपुर महानगरपालिका कांग्रेस सभापतिका उम्मेद्वार अख्तियारको निगरानीमा!

काठमाडौं – नेपाली कांग्रेस चितवनका जिल्ला कमिटी सदस्य तथा आसन्न निर्वाचनका नगर सभापतिको सशक्त उम्मेद्वार तथा भरतपुर महानगरपालिका वडा नं. २१ का अध्यक्ष चित्रसेन अधिकारीले वडाको विकास निर्माणमा अनिमियतता गरी उपभोक्ता समिति र ठेकेदारसँग रकम लिई गुणस्तरहिन काम गरेको भन्दै मंगलवार अख्तियारको टोलीले अनुगमन गरी आवश्यक कागजात जफत गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हैटौँडाको टोलीले वडाध्यक्ष अधिकारी र उनका छोरा विवेकसेन अधिकारीको नाममा सिभिल बैंक भरतपुरको खातामा बाटो निर्माण गर्ने उपभोक्ता समितिले पहिलो पटक एक लाख ७६ हजार रुपैयाँ र दोस्रो पटक २६ हजार रुपैयाँ गरी २ लाख ३ हजार रुपैयाँ जम्मा गरेको बैकं स्टेटमेन्टसहितको कागजात फेला पारेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हैटौँडाबाट खटिएको जनक प्रसाद नेपालको टोलीले वडा नं. २१ को केचन टोलको दुर्गाबाहादुर भट्टराईको घरदेखि गणेश मन्दिरसम्म र गोपाल सापकोटाको घर हुँदै मगर समाजसम्मको बाटो ग्राभेल गरी स्तरउन्नती गर्न वडाध्यक्ष अधिकारीले उपभोक्ता समितिलाई जिम्मा लगाएका थिए।
उपभोक्ता समितिमार्फत नै वडाध्यक्ष अधिकारीले पटक–पटक पैसा लिई गुणस्तरहिन काम गरेको उजुरी परेपछि अख्तियारको टोलीले छानबिनका लागि बाटोकै अनुगमन र आवाश्यक कागजात नियन्त्रणमा लिई छानबिन अगाडि बढाएको स्रोतले बतायो।
जनताको सेवामा दिनरात लागि परेका बताउने अधिकारीले विकास निर्माणका सबै सानाठूला आयोजनामा बजेटअनुसार कोटा तोकी रकम असुली गर्ने गरेको एक उपभोक्ता समितिका अध्यक्षले नाम नबताउने शर्तमा जानकारी दिए।
असुली काण्ड सतहमा आएसँगै नेपाली कांग्रेसको आसन्न निर्वाचनमा नगर अध्यक्षको उम्मेद्वारी घोषणा गरी निर्वाचनमा होमिएको बेला यस घुस काण्डले अधिकारीको दाँतमा ढुंगा लागेको छ भने नगरका कांग्रेसीहरु नै भ्रष्टाचारीलाई नगर सभापति बनाउन नहुने तर्क गर्न थालेका छन्।
यस सम्बन्धि वडाध्यक्ष अधिकारीसँग पटक–पटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन्। उपभोक्ता समितिको रकम वडाध्यक्षले लिएर वितरण गर्ने गरेको साथै गुणस्तरहिन काम र कतिपय अवस्थामा दोहोरो भुक्तानी समेत लिएको उजुरीको आधारमा छानबिन गरिरहेको अख्तियार स्रोतले बताएको छ।

