

के भीम रावल, घनश्याम भुसालहरू राजनीति ‘ऐंठन’मा छन्?

काठमाडौं– माधवकुमार नेपालको हालैको भाषणको एउटा भनाई सामाजिक सञ्जालमा व्यंग्यात्मक बिम्बका रुपमा प्रयोग भइरहेको छ। ‘मलाई अगाडि बढ भन्ने, पछाडी हेर्छु त कोही पनि छैन’ भन्ने उक्तिलाई टिकटकमा रमाइलोका लागि प्रयोग गरिँदै आएको छ। यो भनाईसँगै नेता नेपाल एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठनसँगै सत्ता गठबन्धनमा छन्।
उनलाई अगाडि बढ भन्ने भनिएका ९ जना स्थायी कमिटी सदस्यहरू १० बुँदे सहमति कार्यान्वयन भएको भन्दै एमालेमा नै रहे। प्रमुख प्रतिपक्षी दलमा रहेका उनी ९ जनाहरूको एमालेमा कस्तो भूमिका छ? के उनीहरू ऐंठनमा छन्?
हालै मात्र एमाले उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेशको इञ्चार्ज नभई उपाध्यक्षका रुपमा मात्रै रहनु भनी अध्यक्ष केपी शर्मा ओलीले निर्देश गरेको विषय सतहमा आएको थियो। यस विषयमा रावलले खासै प्रतिक्रिया नदिए पनि उनलाई राजनीतिक रुपमा अपमान गरिएको भन्ने चर्चा छ। यस्तै १० बुँदे कार्यान्वयन नभएको भन्ने टिप्पणी पनि आएको छ।
एमाले खासगरी नेकपा माओवादी केन्द्र र त्यो भन्दा बढी एकीकृत समाजवादीको आलोचनामा समय खर्च गरिरहेको छ। अध्यक्ष ओलीले नै हुर्मत लिनेगरी प्रचण्ड र माधव नेपालको आलोचना विभिन्न सभामा गरिरहेका छन्। यसैगरी बुटवलमा भएको सभामा पनि एमालेका अन्य नेताले आलोचना गर्दा उपमहासचिव घनश्याम भुसालले भने गहन र गहिरो अभिव्यक्ति दिएका थिए। उनले कसैको आलोचना गर्नु भन्दा पनि सबैले गल्तीबारे महसुश गरेर अगाडि बढ्नुपर्ने बताएका थिए।
कतिपयले माधव नेपाललाई सुरुका चरणमा साथ दिएका तर एमालेको मायाले पार्टी विभाजनतिर नलागेका ९ जना उकुसमुकुसमा रहेको आँकलन गरेका छन्। पार्टीका बैठक र सभामा पनि उनीहरूलाई परोक्ष रुपमा हेपिएको जस्तो देखिएको छ।
‘सुरुका दिनमा एमाले र ओलीविरूद्ध कठोर बोलेका कारणले अहिले मिलेर बस्नका लागि त केही समय लाग्छ नै, केही इखहरू र त्यसबेलाका रियलाइजेशनका प्रभाव पनि हुन्’, एक नेता भन्छन्,‘सानो र अल्पमतको संख्यामा रहेका कारण बहुमत एमालेले उनीहरूलाई पेल्नु निक्कै अस्वभाविक होइन।’

