४४ लाख डोज कोरोनाविरुद्धको खोप लिन नेपाल एयरलाइन्सको विमान आज चीन जाँदै


काठमाडौँ – सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप लिन आज (बिहीबार) नेपाल एयरलाइन्सको विमान चीन जाँदै छ। कोभिड विरुद्धको खोप लिएर उक्त जहाज भोलि (शुक्रबार) नेपाल आइपुग्ने छ।

सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो। जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ।

खरिद गरेको बाँकी रहेको ४४ लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको वाइडवडी जहाज आज साँझ ५:४५ बजे बेइजिङ तर्फ जाने छ। आज बेइजिङका लागि जाने विमानले भोली (शुक्रबार) बिहान भेरोसेल खोप लिएर नेपाल आइपुग्ने छ।

यसअघि निगमको जहाज खोप लिन गत बुधबार नै जाने र आज खोप ल्याउने बताइएको थियो। तर पछि संशोधन गर्दै एक दिन पछाडि सारिएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन्।

सरकारले आगामी चैतसम्म सबै नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ।

प्रतिक्रिया