

एमाले सुदूरपश्चिम इन्चार्ज रावल कि भट्ट?
ओलीका इन्चार्ज भट्ट हुन् भने १० बुँदे सहमतिअनुसार रावल!

काठमाडौं – सुदूरपश्चिम प्रदेशको इन्चार्ज कसलाई बनाउने भन्ने विषयमा विवाद भएपछि नेकपा एमालेमा एकताबद्ध बनाउन गरिएको १० बुँदे सहमति कार्यान्वयनमा जटिलता देखिएको छ। पार्टी उपाध्यक्ष भीम रावल र लेखराज भट्ट दुवैले सुदूरपश्चिम प्रदेशको इन्चार्ज आफू नै रहेको दाबी गर्न थालेपछि कार्यान्वयनमा असहजता उत्पन्न भएको हो।
पहिले एमालेदेखि नेकपा हुँदासम्म रावल सुदूरपश्चिम इन्चार्ज थिए। तर, पछि रावल माधवकुमार नेपाल समूहमा लागेपछि माओवादीबाट एमाले प्रवेश गरेका भट्टलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले इन्चार्ज बनाएका थिए। तर अहिले दुवै नेता एउटै पार्टीमा भएपछि संयोजन गर्न समस्या भएको हो।
‘आइतबार नेकपा एमाले अध्यक्ष ओली निवास बालकोटमा भएको छलफलमा ओलीले भीम रावललाई उपाध्यक्षको हैसियतमा समन्वय गर्ने र लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको इन्चार्जको रूपमा काम गर्ने’ भनेको कुरा मिडियामा आयो।
अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको भोलिपल्टै सोमबार लेखराज गृह प्रदेश सुदूरपश्चिम पुगे। कार्यकर्तालाई समेत थाहा नै नदिई उनी सुटुक्क धनगढी हानिए। भट्टले सोमबार नै गृह क्षेत्र गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकाका जनप्रतिनिधिलगायत कार्यकर्तासँग भेट गरे। त्यहाँ पनि आफू नै इन्चार्ज रहेको बताए।
भोलिपल्ट मंगलबार कञ्चचनपुरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा सुदूरपश्चिमको पार्टी इन्चार्ज आफू नै रहेको भट्टले सार्वजनिक गरे। ‘अध्यक्ष केपी शर्मा ओलीले प्रष्ट रुपमा इन्चार्ज को हुने भन्ने बताइसक्नुभएको छ,’ उनले भने, ‘अब यता कुनै विवाद छैन।’
भट्ट सुदूरपश्चिम प्रदेश पुगेर आफू इन्चार्ज भनेको खबर मिडियामा आउनासाथ रावल पनि गृह प्रदेशमा हानिए। यतिबेला रावल र भट्ट गृह प्रदेश सुदूरपश्चिममा छन्। रावल मंगलबार धनगढी पुगेका हुन्। रावलले पनि धनगढीमा कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन्। नेता तथा कार्यकर्तासँग भेटघाट गर्न आएको बताउँदै रावलले सुदूरपश्चिम प्रदेशको इन्चार्ज आफू रहेको बताएका छन्।
मंगलबार धनगढीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा रावलले एमाले विभाजन रोक्न गरिएको १० बुँदे सहमति कार्यान्वयन हुने दावी गरेका छन्। उनले एमालेमाबाट जितेर समाजवादीमा लाग्ने नेताहरुलाई जनताले चुनावमार्फत दण्डित गर्ने ठोकुवा समेत गरे।
‘कार्यकर्ता भेटघाटका लागि रावल धनगढी आउनुभएको हो। उहाँले एकीकृत समाजवादीका नेता—कार्यकर्तासँग पनि भेट्ने इच्छा जाहेर गर्नुभएको छ,’ सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री कृष्णराज सुवेदी भने, ‘केही नयाँ हुन सक्छ।’
मंगलबार फरक–फरक कार्यक्रममा दुवै नेताले एउटै दाबी गरेका छन्। पछिल्लो समय एमाले सुदूरपश्चिमको इन्चार्जको विषयमा रावल र भट्टबीच विवाद चलिरहेको छ। एमाले अध्यक्ष ओलीले सुदूरपश्चिमको इन्चार्ज भट्ट नै भएको बताएका थिए भने रावल १० बुँदे सहमतिअनुसार पार्टी २ जेठमा फर्किएको र सो अनुसार आफू नै सुदूरपश्चिम इञ्चार्ज भएको बताउँदै आएका छन्।
५ पुस २०७७ अघि रावल तत्कालीन नेकपाको सुदूरपश्चिम संयोजक भएका थिए। ३ जेठ २०७५ मा एमाले र माओवादी एकता भएर नेकपा गठन हुनुअघि पनि रावल एमाले उपाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज थिए। ५ पुसपछि नेकपामा फेरिएको समीकरणका कारण भट्ट इन्चार्ज बने। २ जेठअघि एमालेमा इन्चार्ज भन्ने थिएन।
२ जेठको स्थितिअनुसार स्वतः पाउनुपर्ने सुदूरपश्चिम प्रदेश इञ्चार्ज ५ पुस २०७७ पछि ओली खेमामा लागेका भट्टमै कायम रहने ओलीको अडानले अहिले १० बुँदे सहमति कार्यान्वयन हुनेमा नै शंका उत्पन्न भएको छ। सहमतिमा २ जेठकै अवस्थामा पार्टी र गठन भएका संगठन र इन्चार्ज रहने उल्लेख गरिएको छ। तर, ओलीको अडानले त्यसो नहुने देखिएको छ।
नेकपा एमाले २ जेठमा फर्कने १० बुँदे सम्झौता कार्यान्वयन गर्दा एमालेको सुदुरपश्चिम इन्चार्ज उपाध्यक्ष समेत रहेका रावल हुनुपर्ने भएपनि अध्यक्ष ओलीले भट्टले नै उक्त जिम्मेवारी सम्हाल्ने र रावललाई उपाध्यक्षको जिम्मेवारी बहन गर्न भनेका हुन्।
भट्ट गत २३ फागुन पछि एमाले सुदुरपश्चिम इन्चार्ज तोकिएका हुन्। त्यसबेला रावल माधव नेपाल समूहमा रहेका थिए। माधव नेपालसहितका नेताहरुले एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी गठन गर्दा रावल पुन ओलीसँगै बसेका थिए।
१० बुँदे कार्यदलका संयोजक समेत रहेका रावल पार्टी जेठ २ मा फर्कने भन्ने सहमतिपछि सुदूरपश्चिमको संयोजक पनि स्वत आफै हुनुपर्ने पक्षमा छन्। तर रावलको उक्त चाहाना अध्यक्ष ओलीका कारण पुरा हुन नसक्ने भएको छ।

