


विधान महाधिवेशनका प्रतिनिधि टुंगो लगाउन पुन: एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं – शनिबार विहान बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकमा आगामी विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिबारे छलफल भएको छ । बैठकमा विधान महाधिवेशनमा करिब ३ हजार जना प्रतिनिधि सहभागी गराउने विषयमा छलफल भएको छ । तर को को सहभागी हुने भन्ने विषय टुंगिन बाकीं रहेको छ ।
पार्टी प्रचार विभाग प्रमुख योगश भट्टराईका अनुसार आजै दिउँसो ३ बजे हुने बैठकमा विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक, संगठनिक र विधानसम्बन्धी छुट्टाछुट्टै दस्तावेजमाथि पनि छलफल हुने बताए ।
विधान महाअधिवेशनमा हालको केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकाय, केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि सहभागी गराउने प्रस्ताव पार्टी संगठन विभागले राखेको छ ।
एमालेमा विगतमा विधान महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषदका सदस्यहरु सहभागी हुन्थे । तर नवौं महाधिवेशन पछि राष्ट्रिय प्रतिनिधि परिषद सदस्य चुनिएका छैनन् । त्यसैले अन्तरिम व्यवस्था गरेर विधान महाधिवेशनको प्रतिनिधि टुंगो लगाउन लागेको भट्टराईले बताए ।

