सत्तारुढ र प्रतिपक्षीका सबै बैठक स्थगित, कोरोना महाकारण


बीबीसी–प्रधानमन्त्री निवास बालुवाटार र नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा धेरै व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको भोलिपल्ट सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महत्त्वपूर्ण बैठकहरू प्रभावित भएका छन्।

शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका चार सदस्य र ७० भन्दा बढी सुरक्षाकर्मीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो भने कांग्रेसका सात केन्द्रीय सदस्यसहित कम्तीमा २० जनामा कोभिड-१९ देखिएको सार्वजनिक भएको थियो।

धेरै सङ्क्रमित फेला परेकै कारण आइतवारका लागि डाकिएको पार्टीको सचिवालय बैठक स्थगित भएको पार्टी प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बीबीसीलाई बताए।

“परिस्थिति जटिल बन्दै गएकोले आजको बैठक स्थगित भयो तर निकै महत्त्वपूर्ण अजेन्डा भएकाले भोलि वा पर्सि गर्ने भन्ने छ। तर परिस्थिति के हुन्छ हेर्नुपर्छ,” श्रेष्ठले भने।

अब ‘भर्चूअल बैठक’

श्रेष्ठका अनुसार अन्य सामान्य कार्यसूची हुँदा भर्चूअल बैठक नै उपयुक्त हुने उनको भनाइ छ।

सरकारले गत साता गरेको राजदूत सिफारिसप्रतिको असन्तुष्टिलगायत स्थायी समिति बैठकका अजेन्डाबारे छलफल गर्न आइतवार सचिवालयको बैठक बोलाइएको थियो।

उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पनि सानेपास्थित पार्टी कार्यालय आउँदो २२ गतेसम्मका लागि बन्द गरिएको छ।

सोमवार हुने केन्द्रीय कार्यसमितिको बैठक असोज २५ गतेसम्मका लागि स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

“अहिले जसजसलाई पोजिटिभ देखिएको छ उहाँसँग सम्पर्कमा आएकाहरूको पनि कन्ट्याक्ट ट्रेसिङअन्तर्गत परीक्षण हुँदैछ अहिले नै बैठक गर्न सक्ने अवस्था रहेन,” प्रवक्ता शर्माले भने।

आइतवार हुने भनिएको कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक स्थगित भइसकेको छ।

प्रवक्ता शर्माका अनुसार अहिलेको अवस्थाले केन्द्रीय कार्यसमितिको बेठकमात्रै नभई फागुनमा हुने भनिएको महाधिवेशनलाई पनि असर गर्ने देखिएकोले अबको रणनीति कसरी तय गर्ने भन्नेबारे पार्टीको बैठकले निर्णय गर्ने बताए।

“अब धेरैजसो मीटिङ त भर्चूअल नै नगरी नहुने देखिइसक्यो। अहिले अपनाउँदै आएको सतर्कता पर्याप्त रहेनछ भन्ने पनि देखियो,” उनले भने।

यसअघि कांग्रेस महामन्त्री शशाङ्क कोइरालालाई कोभिड-१९ देखिएको थियो।

प्रधानमन्त्रीको भेटघाट अझै सीमित बनाइने

प्रधानमन्त्री निवासमा अहिलेसम्म सङ्क्रमण नदेखिए पनि सचिवालय र सुरक्षातर्फ देखिएकोले यसअघि भन्दा प्रधानमन्त्रीको भेटघाट अझ सीमित पारिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

प्रधानमन्त्रीको गत फागुन महिनामा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएपछि स्वास्थ्यसम्बन्त्री विशेष सावधानी अपनाइएको बताइन्छ

थापासहित शनिवार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्रमामिला सल्लाहकार राजन भट्टराईलाई पनि कोरोनाभाइरस देखिएको थियो।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण दोस्रो पटक गरेदेखि नै बालुवाटारमा उनको स्वास्थ्यबारे निकै सतर्कता अपनाइँदै आएको थापाले बताए।

“सुरक्षाकर्मीलाई धेरै सङ्ख्यामा देखिएपछि सचिवालयमा पनि परीक्षण गर्न प्रधानमन्त्रीले नै सुझाउनुभएको थियो। अहिले सङ्क्रमितको सङ्ख्या धेरै देखिन थालेपछि अब थप सतर्क हुनपर्ने देखिएको छ,” थापाले भने।

“बालुवाटारमा हुने बैठक यसअघि पनि कुर्सीको व्यवस्थापन लगायतमा ध्यान दिइएकै थियो तर सावधानी अझै अपुग रहेछ भन्ने देखियो। हामीले अपनाउँदै आएका मापदण्डमा अझै सुधार गर्नुपर्ने र थप व्यवस्थापन गर्नुपर्ने देखिएको छ।”

ओलीकी चिकित्सक डा. दिव्या सिंह कोरोनाभाइरस सङ्क्रमण भएपछि अहिले एकान्तवासमा छिन्।

प्रतिक्रिया