

प्रतिस्थापन बजेट विधेयक संसदमा २४ गते पेश गर्ने तयारी

काठमाडौं – अर्थ मन्त्रालयले चालू आर्थिक वर्षका लागि बजेट प्रतिस्थापन विधेयक भदौ २४ गते संसदमा दर्ता गर्ने तयारी थालेको छ । पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले विधेयक ल्याउन लागेको हो ।
तयार गरिएको विधेयक संसदमा पेश गर्नुअघि सरकारले प्रतिपक्षी दल नेकपा (एमाले) का गतिविधि आंकलन गर्ने भएको छ । बुधबार बस्ने संसद बैठकमा सो दलको गतिविधि हेर्ने र बिहीबार संसदमा विधेयक दर्ता गराउने अर्थको तयारी छ ।
विधेयक तयार पारेर राखिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । बजेट अध्यादेशमा उल्लेखित बजेटको आकारसमेत परिवर्तन गरिएको स्रोतले बतायो ।
भदौ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते संसद बैठक बोलाउने निर्णय गरिसकेको छ । विधेयक दर्ता भएको एक साताभित्रै आवश्यक छलफल गरी विधेयक स्वीकृत गर्ने सरकारको योजना छ ।

