

सरकार विरुद्ध प्रदर्शनः देउवाको तस्विर अंकित प्लेकार्डमा ‘कठपुतली सरकार मुर्दावाद’ नारा

काठमाडौं – काठमाडौंको प्रदर्शनीमार्गस्थित् आर.आर. क्याम्पस अगाडि अखिल (क्रान्तिकारी), युवा संगठन नेपालले आज सरकारको विरुद्धमा प्रदर्शन गरेको छ ।
प्रदर्शनीमा उत्रिएकाहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्विर अंकित प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।
उनीहरुले देउवाको तस्विर अंकित प्लेकार्डमा कठपुतली सरकार मुर्दावाद नारा लेखेर प्रदर्शन गरेका थिए । त्यस्तै, मोदीको तस्विर अंकित प्लेकार्डमा भने भारतीय विस्तारवाद मुर्दावाद लेखेका छन् । यस्तै माधव नेपालको तस्विर अंकित प्लेकार्डमा भने कठपुतली सरकारको मतियार लेखिएको थियो ।
उनीहरुले नेपाली सीमा क्षेत्रमा भारतीय हेलिकप्टरको हवाई गस्ती, भारतीय विदेश मन्त्रालयको प्रवक्ताको नेपालप्रति हेपाहा अभिव्यक्ति र जयसिंह धामीको हत्याको विरोधमा प्रदर्शनको आयोजना गरेका हुन् ।

