

वामदेवलाई ओलीले भने- उपप्रधानमन्त्री हुन पाउँ भनेर उतातिर भने हुन्छ नि, मलाई किन गाली गर्ने ?

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वउपाध्यक्ष वामदेव गौतमले आफुलाई गाली नगर्न आग्रह गरेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलामा अध्यक्ष ओलीले गौतमलाई उपप्रधानमन्त्री पदका लागि पार्टी छाडेको आरोप लगाउँदै आफूलाई गाली नगर्न आग्रह गरेका हुन् ।
‘उपप्रधानमन्त्री हुन पाउँ भनेर उतातिर भने हुन्छ नि, केपी शर्मा ओलीलाई गाली किन गर्ने ?,’ वामदेव गौतमको नाम नलिइकनै एमाले अध्यक्ष ओलीले यस्तो व्यंग्य गरे, ‘निवेदनमा एउटा कुरा छ । निवेदनको व्यहोरा अर्कै छ । बुझ्नै गाह्रो पर्नेगरी ।’
उनले एउटा पक्षको नजिक हुनका लागि अर्को पक्षलाई गाली गर्ने प्रचलन बढेको बताए । त्यो प्रचलन वामदेव गौतममा देखा परेको उनको संकेत थियो । गौतमले शुक्रबार पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएका थिए ।
ओलीले थपे, ‘अहिले त कस्तो भइरहेको छ भने उपप्रधानमन्त्री कसैलाई बन्न मन लाग्यो भने निवेदन के व्यहोरामा हालेको छ भने- तपाईं केपी शर्मा ओली एकदमै तानाशाही हुनुभयो । तपाईं केपी शर्मा ओलीले पार्टीले भन्या मान्नुभएन, तपाईं केपी शर्मा ओलीले हामीलाई सम्मान गर्नुभएन, तपाईं केपी शर्मा ओलीले विकास मात्र गर्नुभयो । तपाईं केपी शर्मा ओलीले कुन्नि के जाती गर्नुभयो । त्यसकारण तपाईंको पार्टी छोडेँ ।’

