चोभारकाे सुख्खा बन्दरगाह निर्माण कार्य सम्पन्न


काठमाडौं – मुलुकमा रहेका सीमा नाकाभन्दा टाढा भित्री सहर काठमाडौंको चोभारमा निर्माणाधिन सुख्खा बन्दरगाहकाे निर्माण कार्य सम्पन्न भएको छ । चोभारबाटै सामान आयात-निर्यात हुने गरी बनाइएको सुख्खा बन्दरगाह निर्माण सकिएको आयोजनाका कार्यकारी निर्देशक आशिष गजुरेलले बताएका हुन् ।

अब भन्सार र क्वारेन्टाइन आए सुख्खा बन्दरगाह बसेपछि सञ्चालनमा ल्याईने र त्यसको लागि पनि तयारी शुरू भइसकेको निर्देशक गजुरेलले बताए । त्यसपछि विदेशबाट आयात हुने वस्तु सीधै चोभार ल्याउन पाइनेछ भने नेपालबाट निर्यात हुने वस्तु पनि यही बन्दरगाहबाट सबै प्रक्रिया पूरा गरी लैजान सकिनेछ ।

स्थानीयको विरोध र कोरोना महामारीका कारण निर्धारित मितिभन्दा करिब १ वर्ष ढिला बन्दरगाह निर्माण सकिएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ माघ ३ गते बन्दरगाह शिलान्यास गरेका थिए ।

चोभारबाट नै नेपालमा उत्पादन भएको वस्तु निर्यात गर्न सकिने भएपछि नेपालको निर्यात पनि वृद्धि हुने गजुरेलले बताए । नेपालमा आयात हुने वस्तु धेरै मात्रामा काठमाडौंमा खपत हुने भएकाले वस्तु आयातकर्तालाई सहज हुनेछ ।

२२० रोपनी जग्गामा फैलिएको उक्त बन्दरगाह निर्माणका लागि शुरूमा छुट्ट्याइएको १ अर्ब ४० करोडबाट १२ प्रतिशत लागत बढेपछि १ अर्ब ६० करोड खर्च भएको छ । निर्माणमा विश्व बैंकले सहयोग गरेका थिए ।

साे बन्दरगाहमा ३ वटा मुख्य गेट, भन्सार, क्वारेन्टाइन र प्रशासनिक गरी ३ वटा भवन, ३ वटा गोदाम, ३ वटा सवारीसाधनको चेकजाँच गर्ने संरचना निर्माण भएको छ ।

हाल वीरगञ्ज, भैरहवा, तातोपानी र विराटनगरबाट नै भन्सारको सबै काम सकेर सामान आयात हुने गरेको छ । वीरगञ्ज, वीरटनगर, भैरहवा, तातोपानी र विराटनगरबाट सामान आयात हुँदा त्यहाँको भन्सारमा सामान्य प्रक्रियामात्रै गरेर चोभारको सुख्खा बन्दरगाह ल्याएर भन्सार तिर्न सकिने छ ।

बन्दरगाह सञ्चालनमा आएपछि राजधानी केन्द्रित व्यापारका लागि भारत र चीनको समुद्री बन्दरगाहबाट आउने माल सामान बोकेका कन्टेनर अब सिधै काठमाडौं आउन सक्नेछ ।

प्रतिक्रिया