

पर्वतमा पहिरोमा परी ५ को मृत्यु, दुर्लुङका एकैघरका २ को मृत्यु, ३ बेपत्ता

कुश्मा – पर्वतका विभिन्न स्थानमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । लगातारको वर्षापछि पहिरो जाँदा कुस्मा नगरपालिका ३ दुर्लुङको एकै घरका ५ जना पुरिएकोमा २ जना मृत अवस्थामा फेला परेका छन् ।
पहिरोमा पुरिएका एकै घरका ५ जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ । सो घरकी एक वृद्धा, एक महिला र एक बालक वेपत्ता रहेकाले खोजी भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।
सो घरका पुरूष भने वैदेशिक रोजगारीका शिलशिलामा कतार रहेका छन् ।
कुश्माबजारबाट करिब ५ किलोमिटरमाथि भएको उक्त घटनामा बेपत्ताको खोजी भइरहेको र जिवितै फेला पार्न सकिने सम्भावना कम रहेको खोजीमा जुटेका स्थानीयले बताएका छन् ।
सोही घरकोे एकापट्टिको कोठीमा बस्ने एक वृद्धा भने बाँच्न सफल भएको जनाइएको छ ।
यस्तै कुश्मा नगरपालिका ११ पकुवामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश पौडेल रहेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिए ।
यस्तै मोदी गाउँपालिका ५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीय ठुलीमाया थापाको पनि मृत्यु भएको छ ।

