अध्यक्षद्वय प्रचण्ड र नेपालबीच भेटवार्ता, के-के भयो कुराकानी ?


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रचण्ड र नेपालबीच माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आज (बिहीबार) बिहान भेटबाटर्ता भएको हो ।

करिब २० मिनेट जति भएको छलफल सरकारको सहभागिता र सरकारका काममा केन्द्रित रहेको प्रचण्ड निकट स्रोतले बताएको छ ।

नेकपा एमालेबाट अलग भएका माधव नेपालले दर्ता गराएको नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट मान्यता पाएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने भनिए पनि अझै टुङ्गो लागिसकेको छैन ।

निर्वाचन आयोगले विभाजित पार्टीका जनप्रतिनिधिहरुलाई दल रोज्ने विकल्प भदौ २२ गतेसम्म दिएको छ । त्यसैले भदौ २२ पछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी सत्ता गठबन्धनका नेताहरुले गरेका छन् ।

मन्त्रिपरिषद् विस्तारसँगै हुम्लामा चीनसँगको सीमा विवाद र एमसीसीबारे चर्चा भइरहेका बेला दुई अध्यक्षबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सरकारले चीनसँग सीमा जोडिएको हुम्लाको नाम्खामा नेपाली भूभाग अतिक्रमण भए/नभएकोबारे अध्ययनका गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गर्ने निर्णय गरेको थियो । साथै सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीचको सम्झौतालाई कसरी अघि बढाउने भन्नेबारे समेत छलफल भइरहेका बेला विगतमा एमसीसीको विरोधमा रहेका दुवै नेता अहिले सरकारमा समेत भएका बेला कस्तो धारणा बनाउछन् भन्ने चासो बढि रहेको छ ।

एमसीसी सम्झौता कार्यान्वयन प्रक्रिया ४ वर्ष पुग्न लाग्दा पनि अघि बढ्न सकेको छैन । यहीबेला बेला अमेरिकी दातृ निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उच्च अधिकारी काठमाडौं आउँदैछन् । आगामी साता एमसीसीकी उपाध्यक्ष फतेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले सम्झौताका विषयमा छलफल गर्न नेपाल आउँदैछन् ।

प्रतिक्रिया