फोहोर व्यवस्थापनमा प्रधानमन्त्री, सिसडोल जाने बाटो तुरुन्तै मर्मत गर्न निर्देशन


काठमाडाैं – काठमाडाैं उपत्यकाको फोहर व्यवस्थापन गर्ने ठाउँ नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो तत्कालै मर्मत गर्न सडक विभागलाई प्रधानमन्त्री शेरबहादुर देउवाले ठाडाे निर्देशन दिएका छन् ।

काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहितको टोली समस्या समाधानको पहल गरिदिन माग गर्दै आज साेमवार प्रधानमन्त्रीलाई भेट्न गएको थियो । भेटमा प्रधानमन्त्री देउवाले फोहोर व्यवस्थापनका लागि जस्तोसुकै सहयोग गर्ने वचन दिएका थिए ।

प्रधानमन्त्री देउवाले आफूहरूसँगको भेटकै क्रममा कार्यालयबाटै सडक विभागका महानिर्देशकलाई टेलिफोन सम्पर्क गरी आजैदेखि तत्काल बाटो बनाउने काम थाल्न निर्देशन दिएको मेयर शाक्यले जानकारी दिए । प्रधानमन्त्रीको निर्देशनपछि सडक विभागले सिसडोल र बञ्चरे डाँडाको बाटो मर्मतको तयारी थालिहाल्ने जनाएको छ ।

प्रधानमन्त्रीसँगको भेटमा शाक्यले सिसडोलसम्म जाने बाटो निर्माणका लागि लाग्ने खर्च गर्न महानगरपालिका तयार रहेको पनि जानकारी दिए । फोहर विसर्जनस्थलमा समस्या भएपछि उपत्यकामा फोहर थुप्रिएको छ ।

प्रतिक्रिया