मन्त्रिमण्डललाई पूर्णता दिन बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी


काठमाडौँ – मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धनमा रहेका शीर्ष नेता आज (सोमबार) बिहानैदेखि छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री निवास (बालुवाटार)को जारी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टी जसपाबाट अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल छन्।

सरकार गठनका लागि हिजो बिहान र बेलुका माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग देउवाले छलफल गरेका थिए। नयाँ सरकार गठन भएको लामो समय बितिसक्दा समेत मन्त्रिपरिषद् विस्तार नहुँदा प्रधानमन्त्री देउवाको आलोचना हुँदै आएको छ।

कुन दलले कति मन्त्रालय र कुन-कुन मन्त्रालय लिने भन्नेबारे सत्तारूढ गठबन्धनबीच छलफल गरी टुंग्याउन लागिएको छ।

प्रधानमन्त्री देउवाले यसअघि कांग्रेसबाट २ मन्त्री र एक राज्यमन्त्री र माओवादीबाट २ मन्त्रीलाई मात्रै मन्त्रिमण्डलमा सहभागी गराएका थिए।

प्रतिक्रिया