एक-दुईवटा पात पहेँलिएर झर्छन् अनि नयाँ टुसा पलाउँछन् : ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टी नेपालका अध्यक्ष माधवकुमार नेपालपक्षलाई पातको संज्ञा दिएका छन् ।

नेकपा विभाजनपछि एमाले अध्यक्ष ओलीले शनिबार आयोजित एक कार्यक्रममा नेपाल पक्षलाई रुखबाट पात खसेकोु रुपमा टिप्पणी गरेका हुन् ।

ओली भने, ‘एक-दुईवटा पात खस्दैमा पीर मानेर रुख ढल्दैन । एकदुईवटा पात पहेँलिएर झर्छन् । रुखमा नयाँ टुसा पलाउँछन् । पार्टीमा अहिले युवा, महिला आइरहेका छन् । नयाँ नयाँ पालुवा पलाइरहेका छन् ।’ एमालेबाट ५५ केन्द्रीय सदस्य र २९ सांसद बाहिरिँदैमा केही प्रभाव नपर्ने ओलीको भनाइ थियो ।

पार्टी एकता गर्नका लागि आफूले भरमग्दुर प्रयास गरेको तर नेपाल विभाजनका लागि कसम खाएर लागेकाले रोक्न सम्भव नभएको ओलीको भनाइ थियो । नेपालले देशलाई अप्ठ्यारोमा पार्ने र विदेशीको दलाली गरेर एमाले विभाजन गरेको उनको आरोप थियो ।

भदौ ९ गते एमालेबाट विभाजित भएर माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए ।

ओलीले पार्टी विभाजनका लागि आफूले निकै प्रयास गरेको स्मरण गर्दै भने ‘कति गर्दाखेरि पनि पार लागेन । २० औँ पल्ट फोन गरे, ८ पल्ट जहाँजहाँ भन्यो त्यतै त्यतै गएर, धाएर सम्झाएँ,’ पार्टी विभाजन रोक्न आफूले खेलेको भूमिकाबारे ओलीले थपे, ‘मैले सम्झाएको दुनियाँले मान्छ तर केही केही मान्छे मानेनन् । पानी समाएर कसम खाएकाहरू ।’ माधव नेपाललगायतका मान्छेहरूलाई पार्टी विभाजन नगर्न भनेर सम्झाएर बुझाएर पनि नकसिएको ओलीको भनाइ थियो ।

आगामी निर्वाचनमा एमालेविरुद्ध गठबन्धन हुने भन्दै कार्यकर्तालाई अहिलेदेखि नै निर्वाचनको तयारी गर्न ओलीले निर्देशन दिएका छन् । उनले निर्वाचनमा कमजोरसँग सहकार्य र कमजोरलाई साथ लिएर नजाने पनि बताए ।

 

प्रतिक्रिया