खगोल विज्ञानमा अनुसन्धान गर्न एमआईटीवाई विश्वविद्यालयसँग सम्झौता


काठमाडाैं – नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले खगोल विज्ञानका विषयमा अनुसन्धान र ज्ञान आदानप्रदान गर्न दुबईस्थित एमआईटीवाई विश्वविद्यालयसँग सम्झौता गरेको छ ।

सम्झौतापछि सोसाइटीले सो विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्नातक तहमा अध्ययनरत अन्तरिक्ष विज्ञानका विद्यार्थीलाई यस क्षेत्रमा हासिल गरेका ज्ञानका विषयमा तालिम दिइएको छ ।

सोसाइटीले १४औं वर्ष पूरा गरी १५औं वर्ष प्रवेश गरेका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष सुरेश भट्टराईले विश्वविद्यालयसँग २ वर्षअघि सम्झौता गरी यस क्षेत्रमा काम गर्ने जनशक्ति आदानप्रदान गर्ने वातावरण बनेको जानकारी दिए ।

सोसाइटीले दुबईका विद्यार्थीलाई क्षुद्रग्रह खोज्न समेत सिकाएको छ । कोरोना महामारीका कारण नेपालले भने सो विश्वविद्यालयसँग सिक्ने अवसर नबनेको सोसाइटीले जनाएको छ । कार्यक्रममा दुबईको विश्वविद्यालयमा अन्तरिक्ष विज्ञानमा प्राध्यापन गर्दै आएका शरत्राज नन्दराजन अंसारी श्यामलाले २ संस्थाबीचको सहकार्यले खगोल र अन्तरिक्ष विज्ञान विषयमा फाइदा पुगेको बताए ।

मेक इन्जिनीयरिङका अर्केट महर्जनले खगोल र अन्तरिक्ष विज्ञानको अध्ययन, अनुसन्धानमा टेलिस्कोपको उपयोगिताका बारेमा प्रकाश पार्नुभयो । पुल्चोक इञ्जीनियरिङ क्याम्पसका उपप्राध्यापक डा सुदीप भट्टराईले नेपालमा अन्तरिक्ष विज्ञान अध्ययन, अध्यापन पुल्चोकमा भइरहेको जानकारी दिए ।

यस विषयमा ४ वर्षे स्नातक तहमा अध्ययन गरिरहेका विद्यार्थीले १ वर्षपछि सो तह पूरा गर्न लागेको उनले सुनाए । त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र क्याम्पसका उपप्राध्यापक दयानिधि छत्कुलीले नेपालमा खगोल विज्ञानको अध्ययन अध्यापन हुन थालेपछि यस विषयमा रुचि राख्नेको संख्या पनि बढ्दै गएको बताए ।

सोसाइटीका आजीवन सदस्य प्रेमराज जोशीले सुदूरपश्चिम प्रदेशका विद्यालय तहका विद्यार्थीमा खगोल विज्ञानका विषयमा चासो बढेको बताए । विद्यार्थी र शिक्षकको पहुँचमा टेलिस्कोप नभएकाले अध्ययन अनुसन्धानमा बाधा पुगेको उनको भनाइ थियो ।

विक्रम संवत् २०६४ सालमा नेपालमा खगोल तथा अन्तरिक्ष विज्ञानसम्बन्धी जनचेतनामूलक गतिविधि गर्ने उद्देश्यले सोसाइटीको स्थापना गरिएको थियो । सोसाइटीको स्थापनापछि यस क्षेत्रमा अध्ययन एवं अनुसन्धानका लागि वातावरण बनेको हो ।

प्रतिक्रिया