

कोभिड परीक्षणको नक्कली रिर्पोट बनाइदिने कर्मचारीमाथि मन्त्रालयकाे छानबिन

काठमाडौं – कोभिड-१९ परीक्षणको नक्कली रिर्पोट बनाइदिने शहीद गङ्गालाल हृदय रोग केन्द्रका कर्मचारीमाथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छानबिन सुरु गरेको छ ।
सर्वसाधारणले उजुरी दिएपछि मन्त्रालयले केन्द्रको प्रयोगशालामा काम गर्ने वरिष्ठ ल्याब टेक्निसियन विनोद कुमार यादवमाथि कोभिड–१९ को नक्कली रिर्पोट बनाएको आरोपमा छानबिन सुरु गरेको हो ।
केन्द्रका सञ्चालक समिति सदस्य विजय राईको संयोजकत्वमा मन्त्रालयका उपसचिव मानबहादुर बस्नेत र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका विज्ञ डा. शंकर काफ्ले सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका उपसचिव बस्नेतले यादवले कोभिड-१९ को नक्कली रिर्पोट बनाई सर्वसाधारणसँग रकम असुल्ने गरेको बताए ।
यादवले नक्कली कागजात बनाउने, केन्द्रको लेटरप्याडको दुरुपयोग गर्ने, बिना परीक्षण रिर्पोट निकाल्ने गरेको पाइएको उनले जानकारी दिए । यादवलाई सेवा सर्त नियमावली अनुसार भविष्यमा केन्द्रको सेवामा अयोग्य ठहर गर्दै बर्खास्त गर्ने गरी विभागीय सजाय गर्न सञ्चालक समितिलाई सिफारिस गरिएको छ ।

