

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम १६ अर्ब माथि

काठमाडाैं – दुई दिनकाे बन्दपछि कारोबार खुलेको पहिलो दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा उच्च गिरावट आएको छ । मंगलबार बिहानैदेखि खुलेदेखि नै ओरालो लागेको नेप्से परिसूचक बन्द हुँदा ५६ अंकले घटेको हो ।
बजारमा जलविद्युत समूहमा सबैभन्दा बढी ६.२१ अंक अर्थात् २३२ अंकको गिरावट आएको छ । सो समूहको १४ ओटा कम्पनी नकारात्मक देखिएका छन् । यो समूहका ६ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा माथि घट्न पुगेको छ ।
मंगलबार विकास बैंक समूहको परिसूचकमा पनि २४४ अंकले गिरावट आएको छ । बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समूहको परिसूचकमा करिब २० अंकको गिरावट आएको छ ।
मंगलबार सबै समूहमा उच्च गिरावट आउँदा फाइनान्स र निर्जीवन बीमा समूहको परिसूचक भने बढ्न पुगेको छ । मंगलबार २२५ कम्पनीको २ करोड ५३ लाख कित्ता सेयर खरिदबिक्री भई १६ अर्ब १२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

