
दल विभाजन सनाखतपूर्व भाजपा नेता चौथाइवाले काठमाडौं आउनुको राजनीतिक अर्थ
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओली र सत्ता गठबन्धनका प्रमुख घटकका नेता पुष्पकमल दाहाल प्रचण्ड, प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख बिजय चौथाइवालेले भेट गरेका छन्।
नेपालको सत्ता राजनीति र फेरबदलमा हस्तक्षेपकारी भूमिका निभाउने भारतीय पक्षबाट प्रभाव राख्ने नेताका यी भेटहरूलाई अर्थपूर्ण मानिन्छन्। ५ पुसमा तत्कालिन प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्नुपूर्व चौथाइवालेसँगकै भेट भएका कारणले पनि यी विविध उच्च स्तरीय तर अनौपचारिक राजनीतिक भेटवार्तालाई निक्कै महत्वपूर्ण आलोकमा राखेर हेर्नुपर्दछ।
दल विभाजनसम्बन्धी अध्यादेश जारी भएपछि चौथाइवाले एमाले र जसपा विभाजनको सनाखतपूर्व काठमाडौंमा उच्चस्तरीय भेटवार्तामा व्यस्त छन्। कतिपयले भाजपाले नेपालमा राजनीतिक सम्बन्धलाई बलियो बनाउन थालेको भन्ने टिप्पणी गरे पनि आन्तरिक राजनीतिमा ‘माइक्रो म्यानेजमेन्ट’ गर्नका लागि चौथाइवालेको काठमाडौंमा राजनीतिक रफ्तार बढेको आँकलन गरिएको छ।
‘नेपालको प्रमुख र चौथो ठूलो दल विभाजनको संघारमा रहेका बेला भारतीय सत्ताधारी पार्टीका विदेश विभाग प्रमुखकै उपस्थितिलाई संयोग मात्र मान्न सकिन्न’, उच्च स्रोतले भन्यो,‘फेरि उनले प्रत्येक प्रमुख नेतालाई निवासमा नै पुगेर भेट गरेका छन्। जसलाई महत्वका साथ हेर्नुपर्दछ।’
प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवालाई बालुवाटार, ओलीलाई बालकोट, प्रचण्डलाई खुमलटार र ठाकुरलाई पनि निवासमा नै पुगेर चौथाइवालेले भेट गरेका तस्बिरहरू सार्वजनिक भइसकेका छन्।
‘राजनीतिमा निकै सकसपूर्ण अवस्थामा चौथाइवालेको भ्रमणका केही संकेत मिलेका छन्। जसका कारण एमाले र जसपा विभाजनको औपचारिकता हुन लागेको छ’, उच्च स्रोतले भन्यो,‘यस्तो सकसपूर्ण अवस्थामा भारतीय जनता पार्टी र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले खटाएको भन्ने कुरामा शंका गर्ने सुविधा मिलिसक्यो।’
जब–जब नेपालमा राजनीतिक परिणाम भयानक र असोचनिय हुने गरेका छन् त्यसबेला भारतीय अधिकारीको बालुवाटार प्रवेशदेखि उच्चस्तरीय भेट हुनुलाई संयोग मात्र मान्न सकिँदैन। प्रतिनिधि सभा विघटनपूर्व रअ प्रमुख सामन्त गोयलको अनौपचारिक बालुवाटार प्रवेश चर्चामा थियो।



विनोद ढकाल |
