हाइटीका भूकम्पपीडितका लागि ब्राजिलले पठायो सहायता सामग्री


हाइटी – गत अगस्त १५ मा हाइटीमा गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या बढिरहेका बेला ब्राजिलले त्यहाँका भूकम्प पीडितका लागि सहायता पठाएको छ । ब्राजिलले आइतबार त्यहाँका भूकम्पपीडितका लागि भन्दै जहाजमा सहायता पठाएको छ । सो सहायता प्रायः खाद्यान्न र लत्ता कपडा रहेको ब्राजिलले जनाएको छ ।

हवाई जहाजमा खाद्यान्न, औषधि र लत्ताकपडा पठाइएको बताइएको छ । साथै ब्राजिलले उद्धारकर्मी पनि सो जहाजमा पठाएको जनाएको छ । ब्राजिलका अधिकारीले दिएको जानकारीअनुसार हाइटीमा भूकम्पको उद्धारका लागि ३२ जना अग्नि नियन्त्रण विशेषज्ञहरुलाई पनि पठाइएको बताइएको छ ।

त्यहाँको भूकम्पबाट आइतबारसम्ममा दुई हजार २०० भन्दाबढी नागरिकको ज्यान गएकोे नागरिक सुरक्षा निकायले जानकारी दिएको छ । त्यहाँ भूकम्पबाट भएको क्षतिका बारेमा अनुसन्धान भइरहेको छ । साथै उद्धारको काम पनि जारी रहेको बताइएको छ । यस भूकम्पको केन्द्रबिन्दु दक्षिणी शहर लेस केयेसबाट उत्तरपश्चिम ४१ किलोमिटर टाढा रहेको स्थानमा ३० किलोमिटर गहिराइमा रहेको बताइएको छ ।

भूकम्पका कारण ६० हजारभन्दा बढी घर भत्किएका छन् भने ७६ हजार क्षतिग्रस्त भएका छन् । कमजोर संरचना भएका केही जेल तथा थुप्रै सामुदायिक विद्यालयलगायतका भवन भत्किएका छन् । यस प्रकोपका कारण पाँच लाखभन्दा बढी बालबालिका प्रभावित भएका संयुक्त राष्ट्रसङ्घको बालबालिकासम्बन्धी एजेन्सी, युनिसेफले जनाएको छ । हाइटीको सरकारले भूकम्पपछिको अवस्थालाई व्यवस्थित गर्न एक महिना लामो राष्ट्रिय सङ्कटकालको पनि घोषणा गरेको छ ।

हाइटीमा यसअघि पनि सन् २०१० को जनवरीमा गएको ७ रेक्टर स्केलको भूकम्प गएको थियो । यहाँको पोर्ट–ओ–प्रिन्स र नजिकैका अधिकांश शहरमा ठूलो क्षति भएको थियो । उक्त भूकम्पमा परी कम्तीमा पनि दुई लाख मानिसको ज्यान गुमेको बताइएको थियो । तीन लाखभन्दा बढी घाइते भएका उक्त घटनामा एक लाख ५० हजारभन्दा बढी हाइटीवासी घरबारविहीन भएका थिए । हाइटीमा १० वर्षअघि यसरी क्षति पुगेका संंरचनाहरुमध्ये कतिपयको अहिले पनि राम्रोसँग पुनःनिर्माण गर्न सकिएको छैन ।

प्रतिक्रिया