जीप दुर्घटनामा थप १ को मृत्यु, मृत्यु हुने संख्या ६ पुग्यो (अपडेट)


गुल्मी – इस्मा गाउँपालिकामा शुक्रबा बिहान भएको जीप दुर्घटनामा थप १ जनाको मृत्यु भएको छ । यससँगै उक्त दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । उक्त दुर्घटनामा ५ जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसअघि सदरमुकाम तम्घासका लागि छुटेको लु१ज ११६६ नंको जीप इस्मा –४ अन्तर्गत हुल नजीकै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा बाटामा मृत्यु भएको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेमा इस्मा–४ का ६५ वर्षीय डम्बरबहादुर धिताल, ३३ वर्षीय चित्रबहादुर दर्लामी र धनबहादुर अछामी, ३० वर्षीय वसन्त दर्लामी र मालिका गाउँपालिका–५ ८० वर्षीया सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले बताउनुभयो । घाइते तीनमध्ये इस्मा–४ का १९ वर्षीय फर्सुराम थापालाई भने उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइपु¥याए पनि बाटामै मृत्यु भइसकेको गुल्मी अस्पतालका प्रमुख डा उत्तम पाच्यले जानकारी दिए ।

दुर्घटनामा परी घाइते इस्मा–४ की २८ वर्षीया सरस्वती दर्लामी र २६ वर्षीय कमल धिताङको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ । दश यात्रु बोकेर सदरमुकामतर्फ आउँदै गरेको उक्त जीप ब्रेकफेल भई दुर्घटना हुँदा सडकबाट ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया