सुदूरपश्चिममा माओवादी सरकार किनारा लाग्दै, मुख्यमन्त्री भट्टले भेटे प्रचण्ड


धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार काठमाडौंमा भेटवार्ता भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व फेरबदलको विषयमा चलिरहँदा मुख्यमन्त्री भट्ट र अध्यक्ष प्रचण्डको भेटलाई खासरुपमा हेरिएको छ ।

प्रदेश सरकार परिवर्तन हुने चर्चा चुलिएको बेलो अध्यक्ष प्रचण्डले भने तत्काल सरकारमा कुनै फेरबदल नहुने दाबी गरे। भट्ट र प्रचण्डको भेटवार्तामा सहभागी एक नेताले भने केन्द्रमा रहेको सत्तारूढ गठबन्धन र सोहीअनुसार गठबन्धनमा रहेका पार्टीको प्रदेश सरकारमा सहभागिताबारे छलफल भएको छ,’ ।

उनले अघि भने ‘प्रचण्डले वर्तमान प्रदेश सरकार तत्कालै परिवर्तन हुने सम्भावना कम रहेको बताउनुभएको छ। सुरुमा संघीय मन्त्रिमण्डल विस्तार हुने र त्यसपछि प्रदेश सरकारको नेतृत्व माओवादीले नै गर्ने वा अन्य पार्टीले गर्नेबारे निर्णय हुने बताउनुभएको छ।’

भेटवार्ताका क्रममा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई सरकारमा ल्याउने लगायतका विषयमा छलफल भएको बताइएको छ।

माओवादीले नेतृत्व गर्दै आएको प्रदेश सरकार अब कांग्रेस वा माधव समूहको नयाँ पार्टीले नेतृत्व गर्ने चर्चा छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा अहिले ५२ सदस्य छन्। तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले माओवादी परित्याग गरेपछि पार्टीको सिफारिसमा पदमुक्त भएपछि प्रदेशसभामा ५२ जना सांसद छन्।

उनीहरूमध्ये तत्कालीन नेकपा एमालेका २५, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई जना प्रदेशसभा सदस्य छन्। विगतमा एमालेभित्र माधव समूहमा १७ जना र ओली समूहमा ७ जना सांसद खुलेका थिए।

भेटवार्तामा सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी पनि सहभागी रहेको जनाइएको छ ।

प्रतिक्रिया