

‘झगडीया’ सभामुखसँग एमालेको टकराब
खुमलटार ‘नत्थी’बाट निर्देशित छन् त अग्नी सापकोटा?

काठमाडौं– प्रतिनिधि सभा विघटनमात्र नभई संवैधानिक परिषदका निर्णयका विरुद्ध सभामुख अग्नी सापकोटा सर्वोच्च अदालत पुगेका थिए। तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सापकोटाबारे टिप्पणी गर्दै भनेका थिए– झगडीया सभामुख।
अहिले एमाले प्रतिपक्षमा छ। उसले आफ्ना १४ जना सांसदलाई कारबाही गरेको जानकारीपत्र संसद सचिवालयमा पठाएको छ तर उनै झगडीया सभामुखले सूचना टाँसेका छैनन्।
प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत दल विभाजनको प्रक्रिया सहज भयो र एमालेका माधवकुमार नेपालसहितका नेताले नेकपा एकीकृत समाजवादी गठन गरेका छन्। निर्वाचन आयोगले त्यसको आधिकारिकता दिन बाँकी छ।
सभामुख सापकोटा एमालेले गरेको कारबाहीको सूचना त्यसबेला सम्म टाँस्ने मुडमा छैनन् जबसम्म आयोगले नेपालको पार्टीलाई आधिकारिकता दिँदैन। नेकपा एकीकृतले आधिकारिकता पाउनासाथ एमालेको कारबाही निष्प्रभावी हुने छ र नेपाल समूहका सांसद सदस्य कायम रहनेछन्।
यसैकारण पनि सभामुखलाई दबाब दिनका लागि दुई दिनसम्म एमाले सांसदहरु सिंहदरबारमा धाएका थिए। सभामुखसँग नोँकझोंक पनि परेको थियो। ‘हामीलाई समय दिएर उहाँ आउनुभएन, एमालेसँग भाग्नुभयो’, सचेतक शान्ता चौधरीले भनेकी छन्,‘फोनमा कुराकानी गरेर सूचना टाँस्ने विषयमा प्रक्रियामा लैजान्छु भन्नुभएको छ।’
खुमलटारमा नत्थी?
खासगरी एमाले अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक इगोका कारण मुलुकले नयाँ दिशा समातिरहेको छ।
सभामुख सापकोटालाई चलाउने नत्थी प्रचण्डसँग छ। माओवादी कोटाबाट नै उनी सभामुख भएको तथा प्रचण्डसँग अधिकनिकट सम्बन्ध रहेका सापकोटालाई खुमलटारले चलाएको एमालेको आरोप छ।
भक्तपुरमा भएको एउटा कार्यक्रममा ओलीले सभामुखमाथि सोही शैलीको कटाक्ष गर्दै भने,‘माओवादी कार्यकर्ता नबन्नुस्, बन्ने भए सभामुख भन्ने जिम्मेवारीबाट हट्नुस्।’
ओलीले सोही बेला एमालेको निर्णय तत्काल सूचनाका रुपमा नआए सदन चलाउन महँगो पर्ने भन्दै सापकोटालाई चेतावनी दिएका थिए।

