प्रदेश २ मा ठाकुर पक्ष सरकारबाट बाहिरिने तयारीमा


जनकपुरधाम – प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्ष सरकारबाट बाहिरिने तयारी गरेको छ ।

जसपाको आधिकारिकता पाएको उपेन्द्र यादव समूह प्रदेश २ मा मजबुत छ। पूर्व राजपाबाट निर्वाचित ९ जना प्रदेशसभा सदस्य उपेन्द्र पक्षमा लागेपछि महन्थ पक्ष कमजोर देखिएको हो।

प्रदेशसभामा तत्कालीन समाजवादी पार्टीबाट ३० र तत्कालीन राजपाबाट २५ जना निर्वाचित भएका थिए। दुवै दलबीच एकता हुँदा ५५ जना प्रदेशसभा सदस्य जसपामा थिए। दल विभाजनपछि तत्कालीन समाजवादी पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य उपेन्द्र यादव पक्षमै लागेका छन् तत्कालीन राजपाबाट निर्वाचित २५ मध्ये ९ जना प्रदेशसभा सदस्यले महन्थको साथ छाडेका छन्।

तत्कालीन राजपाबाट निर्वाचित ९ जना प्रदेशसभा सदस्य उपेन्द्र पक्षमा लागेपछि १६ जना प्रदेशसभा सदस्य महन्थ पक्षमा छन्।
जसपा विभाजन भएपछि महन्थ पक्षले प्रदेश २ सरकारबाट समर्थन फिर्ता लिने तयारी गरिरहेकोे छ। महन्थ पक्षका प्रदेशसभा सदस्य परमेश्वर साहले अहिले दल दर्ता प्रक्रियामा रहेको र दल दर्ताको प्रमाणपत्र पाएलगत्तै सरकारलाई समर्थन दिइहरने वा फिर्ता लिने विषयमा निर्णय लिइने बताए् ।

सरकारबाट महन्थ पक्षले समर्थन फर्ता लिए पनि प्रदेश सरकारमाथि खासै संकट नआउने देखिएको छ। प्रदेश सरकारमा जसपाका साथै कांग्रेस र माओवादी केन्द्रसमेत सहभागी छन्।

महन्थ पक्षले प्रदेश सरकारबाट समर्थन फिर्ता लिए पनि प्रदेश सरकारलाई १ सय ७ सदस्यीय प्रदेशसभामा जसपाको ३९, कांग्रेसको २१ र माओेवादी केन्द्र ८ गरी कुल ६८ प्रदेशसभा सदस्यको समर्थन रहनेछ। अहिले प्रदेशसभामा १ सय ४ जना सदस्य मात्रै छन्।

 

प्रतिक्रिया