

सभामुखलाई नेपाल पक्षका १४ सांसद पदमुक्त गर्न दवाव दिएपछि…

काठमाडौं – कारबाहीको सिफारिस भएका माधवकुमार नेपाल पक्षका १४ सांसदलाई तत्काल पदमुक्त गर्न माग गर्दै सभामुखको च्याम्बरमा पुगेका एमालेका सांसदहरु र सभामुख अग्नि सापकोटाबीच चर्काचर्की भएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा एमाले सांसदहरुले सभामुख पूर्वाग्रही भएको आरोप लगाएपछि सभामुख आक्रामक रुपमा प्रस्तुत भएका थिए । सांसद शान्ता चौधरीले सभामुखको कार्यकक्षमा चर्काचर्की भएको सञ्चारकर्मीलाई जानकारी दिएकी छिन् ।
संसदीय दलको ह्वीप उल्लंघन गरेको अभियोगमा निष्कासनमा परेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गरेको सूचना तत्काल टाँस्न आज पनि एमालेले सभामुखलाई दबाब दिएको हो ।
सचेतक शान्ता चौधरीसहित खगराज अधिकारी, गोकुल बास्कोटा, कृष्णभक्त पोखरेल, राजेन्द्र गौतम, लालबाबु पण्डित, विमला विश्वकर्मा, गोमा देवकोटा, सूर्य पाठकलगायतका सांसद सभामुखलाई दबाब दिन गएका हुन् ।
पार्टीले गरेको कारवाहीलाई कानून बमोजिम अघि बढाउन एमालेले सभामुखको ध्यानाकर्षण गराएको छ । सभामुखले भने आफूले कानून बमोजिम अध्ययन गर्ने बताएका छन् । एमालेले माधव नेपालसहितका १४ सांसदलाई साउन २५ गतेको केन्द्रीय कमिटी बैठकबाट निष्कासन गरेको छ । हिजो मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीले सांसद कारवाहीको विषयलाई दिएर सभामुख सापकोटालाई चेतावनी नै दिएका थिए । उनले सभामुख भएर पार्टी कार्यकर्ताको जस्तो पूर्वाग्रह राख्ने भए पद छाड्न चेतावनी दिएका थिए ।

