बामदेव गौतम माधव नेपालको पार्टीमा आएपछि रामकुमारी झाँक्रीको ‘दाबी’मा ग्रहण


काठमाडौं– सत्ता गठबन्धनका चार दलमा मन्त्रालय बाँडफाँटको खाका आकर्षक मन्त्रालयसँगै तयार भएको थियो। माधवकुमार नेपाल सरकारमा सहभागी भएको खण्डमा गृह मन्त्रालय दिने सहमति भएको थियो। जहाँ कांग्रेसले प्रधानमन्त्री, माओवादीले अर्थ मन्त्रालय र जनता समाजवादी पार्टीले परराष्ट्र मन्त्रालय लिने सहमति भएको थियो।

मन्त्रिपरिषद तयार पार्दा तत्कालका लागि गृह प्रशासन चलाउन भन्दै देउवाले बालकृष्ण खाँणलाई नियुक्त गरेका थिए। माधव नेपाल पक्षीय नेताहरूका अनुसार सरकारमा नजाँदा गृह कांग्रेसले राखे पनि सहभागी हुँदा मन्त्रिमण्डल विस्तार र पुनर्गठनका क्रममा छाड्नुपर्ने सहमति बनेको बताइएको छ।

नेपाल पक्ष सरकारमा सहभागी हुँदा आकर्षक मानिएको गृह मन्त्रालय रामकुमारी झाँक्रीलाई दिने तयारी भएको थियो। उक्त मन्त्रालयका लागि झाँक्रीका नाममा नेता नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सकारात्मक थिए।

तर नेपाल समूहभित्र अर्का प्रभावशाली एमाले नेता आउने घोषणाले झाँक्रीको दाबीमा ग्रहण पर्ने देखिएको छ।

‘एक तहसम्म नेत्री झाँक्रीलाई उक्त मन्त्रालय दिने सहमति भएको थियो। तर, अब समीकरणलाई मिलाउनका निम्ति फेरबदल हुन सक्ला। तैपनि नेत्री झाँक्री गृहमन्त्री बन्नुपर्छ भन्ने दबाब नेता नेपाललाई दिइएको छ’, स्रोतले भन्यो।

नेपाल समूहले गृह मन्त्रालय भागबन्डामा पाउने भएपछि एमाले एकीकरणको अभियान चलाइरहेका उपाध्यक्ष बामदेव गौतमले पनि कित्ता परिवर्तन गरेका छन्। नेपाल समूह सहभागी नभएको एमालेका विभिन्न बैठकमा सहभागी भएका गौतमले एकाएक नेपाललाई सहयोग गर्ने घोषणा गर्नुको पछाडि उपप्रधानसहित गृहमन्त्री बन्ने स्वार्थ रहेको बताइएको छ।

‘चुनावी सरकारमा उपप्रधानसहित गृह मन्त्री लिँदै नेपाल समूहबाट सरकारको नेतृत्व गर्नका लागि गौतमले यस्तो घोषणा गरेका हुन्। तर हामी तेस्रो पुस्ताका साथमा पार्टी दर्ता गराएका कारण यसको अवसर पनि सोही पुस्तालाई नेतृत्व गर्ने नेत्री झाँक्रीलाई दिनुपर्छ भन्ने मान्यतामा छौं’, नेपाल पक्षका प्रस्तावित केन्द्रीय सदस्य भन्छन्,‘गौतमको लोभका कारणले नै एमालेबाट हामी अलग भएको भन्ने विगतलाई विर्सन सकिँदैन।’

नेकपा विभाजन र एमाले र माओवादी ब्युँतिएपछि पनि अवसरका लागि गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चोचोमोचो मिलाएको विषय नेपाल समूहमा चर्चाको विषय बनेको छ।

यता, नेपाल समूहले गृह मन्त्रालय भागमा पाउने भएपछि बालकृष्ण खाँणलाई कुन जिम्मेवारी दिने भन्ने विषय पनि चर्चामा छ। तर, प्रधानमन्त्री शेरबहादुर देउवाले गृह मन्त्रालय कांग्रेससँग नै राखेर अन्य विकास निर्माणका मन्त्रालय नेपाल समूहलाई दिने तयारी गरेका छन्।

‘चुनावी मुखमा गृह प्रशासन प्रधानमन्त्रीको भरोषा भएको र पार्टीसँग नै हुनुपर्ने मान्यताका आधारलाई जोड दिइएको छ, हिजो मोटामोटी सहमति भए पनि नियुक्त गर्नेबेला मन्त्रीको नाम नदिने र अहिले कामलाई तदारुकता दिइसकेपछि दाबी गर्न नहुने हाम्रो भनाई हो’, देउवानिकट कांग्रेस नेताहरु भन्छन्,‘गृहमा अन्यको दाबी हुनेछैन।’

मन्त्रिमण्डल पुनर्गठन हुने र जिम्मेवारी हेरफेर हुन सक्ने भएकाले अहिले गृहमन्त्री खाँणले पनि सचिवालय विस्तार गरिसकेका छैनन्।

प्रतिक्रिया