

पत्नी हत्याको आरोप लागेका नेता शशि थरुरलाई सफाइ

काठमाडाैं – दिल्लीको एक अदालतले भारतीय कांग्रेसका नेता शशि थरुरलाई उनकी पत्नी सुनन्दा पुष्करको हत्याको सबै आरोपमा सफाइ दिएको छ । अदालतको प्रमाणको कमीको आधारमा थरुरमाथि आत्महत्या दुरुत्साहनको मुद्दा खारेज गरेको बीबीसीमा उल्लेख छ ।
सुनन्दा पुष्कर सन् २०१४ जनवरी १७ मा दिल्लीको एक पाँच तारे होटलमा मृत भेटिएकी थिइन् । सुरुमा उनको मृत्युलाई आत्महत्या मानिएको थियो तर पछि दिल्ली प्रहरीले उनको हत्या भएको बताएको थियो । यद्यपि दिल्ली प्रहरीले कुनै संदिग्धको नाम लिएको थिएन ।
सन् २०१८ मा दिल्ली प्रहरीले शशि थरुरमाथि आफ्नी पत्नीलाई आत्महत्या गर्न उक्साएको र क्रुरताको आरोप लगाएको थियो । दिल्लीको पटियाला हाउस कोर्टले यस मामिलामा थरुरलाई दोषी मानेको थियो ।
यद्यपि त्यो बेला शशि थरुरले ट्वीट गर्दै आफूमाथि लगाइएको आरोप आधारहीन बताउँदै त्यसविरुद्ध लड्ने बताएका थिए । अदालतले सफाइ दिने निर्णय गरेपछि शशि थरुरले न्यायाधीश गीताञ्जली गोयलप्रति आभार प्रकट गरेका छन्।

