तालिबानका सह-संस्थापक बरादर अफगानिस्तान फर्किए, अबकाे राष्ट्रपति हुने अनुमान


काबुल – ​तालिबानका सह-संस्थापक अफगानिस्तान फर्किएका छन् । तालिबानका नेता तथा सह-संस्थापक मुल्लाह अब्दुल गनी बरादर कतारबाट अफगानिस्तान गएका हुन् । कतारको दोहामा विगत केही महिनादेखि रहेका उनी कान्दाहर पुगेका हुन् ।

कतारमा रहेर उनी अमेरिकी सैनिकको फिर्ती प्रक्रियालाई लिएर अमेरिकासँग वार्तामा थिए । तालिबानले गएको आइतबार काबुल नियन्त्रणमा लिएपछि उनी अफगानिस्तानको नेतृत्वका लागि फर्किएका हुन् । उनलाई अबकाे अफगानिस्तानका राष्ट्रपति हुने अनुमान गरिएकाे छ ।

उनी स्वदेश फर्कने क्रममा कान्दहार विमानस्थलनमा उत्रिएका हुन् । कान्दाहरलाई तालिबानको धार्मिक जन्मस्थल मानिन्छ । कान्दहार तालिबानकै शब्दमा उनीहरूको पवित्र उद्गमस्थल हो ।

२० वर्षअघि अमेरिकी फौजले तालिबानलाई हटाउनु अघिसम्म कान्दहार उनीहरूको महत्वपूर्ण आधार क्षेत्र रहेको थियो । कान्दहार विमानस्थलबाट उनी कारमा बसेर बाहिरिँदा उनको स्वागत गर्न कैयौँ मानिसहरू आएको देखिने भिडियो फुटेजहरू बाहिरिएका छन् ।

प्रतिक्रिया