प्रचण्डको राजनीतिक प्रतिवेदनमा किन आउँदैन महाधिवेशनको प्रस्ताव?


काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आइतबार जारी रहँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन र प्रस्तावमाथि टिप्पणी भएका छन्।

तर कसैले पनि प्रचण्डको राजनीतिक प्रतिवेदनमा अति आवश्यक देखिएको र पार्टीको पारदर्शी विषय किन नआएको भनी प्रश्न गर्न सकेका छैनन्। ३२ बर्षदेखि निरन्तर नेतृत्व गरिरहेका प्रचण्डको प्रस्तावमा आगामी ११–१३ पुसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव त भएको छ तर नेतृत्व हस्तान्तरणका निम्ति हुने महाधिवेशनको विषय उनले समेटेका छैनन्।

यसअघि पनि माओवादीले हेटौंडा र विराटनगर सम्मेलन गरेको थियो। त्यहाँ नेतृत्व हस्तान्तरणका सवाल उठे पनि प्रचण्डले त्यसलाई दबाई दिए र तत्कालिन उपाध्यक्ष बाबुराम भट्टराईलाई परास्त गरेका थिए।

प्रचण्डको राजनीतिक प्रस्तावमा महाधिवेशनका सवाल, त्यसका लागि प्रक्रियाका विषय किन आउँदैनन्? जबकि, सदनमा रहेको सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले आवधिक महाधिवेशनका विषयमा केन्द्रित छन्।

प्रचण्डको राजनीतिक प्रतिवेदनमा किन आउँदैन महाधिवेशनको प्रस्ताव?

माओवादी केन्द्रका केन्द्रीय सदस्यहरू भने यसलाई अहिले पुनर्गठनको पाटोमा मात्र केन्द्रित भएको कारण देखाउँछन्। तर, त्यतिमात्र नभएर प्रचण्ड अहिले नै नेतृत्व हस्तान्तरण गर्ने पक्षमा छैनन्। ओझेलमा राखिएका कतिपय केन्द्रीय सदस्यले प्रचण्डको ‘ट्रिकी प्रस्ताव’ हुने गरेको र पार्टीको जनाधार बनाउँदै अन्य नेताको उदय हुन नदिनका लागि महाधिवेशनको सवालै नउठाउने गरेको बताउँछन्।

अहिले माओवादी केन्द्रमा अर्को शक्तिका रुपमा मानिएका नारायणकाजी श्रेष्ठलाई पनि प्रचण्डले अगाडि बढ्न दिएका छैनन्। माओवादीमा मोहन वैद्य र बाबुराम भट्टराईसहित रामबहादुर थापा बादलको बहिगर्मनपछि प्रचण्डले आफ्नो प्रतिस्पर्धी भने देखेका छैनन्।

युद्धकालमा नै प्रचण्डको विकल्पमा रहेका वैद्य र भट्टराईलाई विभिन्न ट्रिकमार्फत खेलाएर नेतृत्वमा रहेका उनी पद छाड्न भने तयार छैनन्। ‘सदनमा माओवादीले लोकतन्त्र भन्नै नहुने भनी प्रश्न गरेका प्रचण्डले आन्तरिक लोकतन्त्रको विषय प्रस्तावमा कहाँ ल्याएका छन्? सोध्नु पर्दैन?’, एक नेता भन्छन्।

प्रचण्डले महाधिवेशनको सवाललाई राष्ट्रिय सम्मेलनका नाममा बिट मार्दै आएको र यो क्रम पनि खुला राजनीतिमा दुई पटक भन्दा बढी नगराएको कतिपयको आरोप छ। ‘प्रचण्ड सदाबहार नेताका रुपमा आफूलाई शक्तिमा राख्न चाहेका कारण उनी पार्टीको स्थायीत्वका पक्षमा छैनन्, जुन दिन प्रचण्डको बहिर्गमन हुन्छ त्यहि दिन माओवादी सकिए पनि उनलाई मतलब हुनेछैन’, एक नेता भन्छन्।

प्रतिक्रिया