राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। दिउँसो तीन बजे बस्ने बैठकमा पार्टी महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यक्रम रहेको नेता मोहन श्रेष्ठले जानकारी दिए।

फागुनमा स्थानीय तहको निर्वाचन हुने भएकाले त्यसको तयारी कसरी अगाडि बढाउने भन्ने विषयमा पनि आजको कार्य सम्पादन समितिको बैठकमा गहन छलफल गर्ने कार्यसूची रहेको छ।

राप्रपाले अध्यक्ष कमल थापाको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका सन्दर्भमा एक समिति बनाएको थियो। उक्त समितिले तयार पारेको प्रतिवेदन पनि आजको कार्यसम्पादन समितिको बैठकमा छलफलका लागि प्रस्तुत गरिने नेता श्रेष्ठले जानकारी दिए। राप्रपाले आगामी कार्तिक २७ देखि ३० गतेसम्म पार्टीको महाधिवेशन गर्ने यसअघि नै तय गरिसकेको छ।

प्रतिक्रिया