अदालतको सेटिङमा छुटे नक्कली स्यानिटाइजर बनाउने आशिष प्याकुरेल!


काठमाडौं – गुणस्तरहीन ह्‍याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा पक्राउ परेका सर्जिकल हाउसका सञ्चालक आशिष प्याकुरेललाई उच्च अदालत पाटन, ललितपुरले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

गत ३ असारमा ललितपुर जिल्ला अदालतले प्याकुरेललाई पुर्पक्षको लागि थुनामा पठाएको थियो। तर, उच्च अदालत पाटनका न्यायधीशद्वय बामदेव ज्ञवाली र किरणकुमार पोखरेलको इजलासले प्याकुरेललाई धरौटीमा छाड्न आदेश दिएको हो।

उच्च अदालत पाटनकी प्रवक्ता अमृताकुमारी शर्माले प्याकुरलेललाई १० लाख धरौटीमा छाड्न आदेश दिएको पुष्टि गरिन्। गत १० जेठमा ‘बजारमा विषाक्त स्यानिटाइजर रहेको’ सूचना प्राप्त भएलगत्तै महानगरीय अपराध महाशाखाबाट निगरानीका लागि परिचालित ‘इन्टेलिजेन्स’ टोलीले प्याकुरेललाई ललितपुरको इमाडोलबाट पक्राउ गरेको थियो।

पक्राउपछि अनुसन्धानको क्रममा प्याकुरेलले राजस्व समेत छली गरेको खुलेको थियो। जिल्ला अदालतले प्याकुरेललाई राजस्व छली गरेकोले थप अनुसन्धान गर्नुपर्ने भएकाले प्याकुरेललाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो।

‘प्रस्तुत मुद्दाका प्रतिवादी प्याकुरेलले ललितपुरमा सञ्चालन गरेको कम्पनीले हालसम्म आन्तरिक राजश्व कार्यालयमा आफ्नो कम्पनी दर्ता गराई स्थायी लेखा नं. लिई प्यानमा दर्ता गराएको समेत नदेखिएको र निजले हालसम्म आयव्यय विवरण पेश गरेको देखिन नआएकोले निजले राजस्व छली गर्दै आएको देखिएको हुँदा सोतर्फ समेत अनुसन्धान गर्नुपर्ने देखिएकाले थप अनुसन्धान कारबाहीको लागि आवश्यक कागजातहरु आन्तरिक राजश्व कार्यालय ललितपुर २, लखनखेल ललितपुरमा पठाइएको हुँदा निज प्रतिवादी प्याकुरेल प्रस्तुत मुद्दाबाट छुटी जाने भएमा सो तर्फ अनुसन्धान कारबाहीको लागि आन्तरिक राजश्स कार्यालय ललितपुर २ मा पठाउने प्रायोजनार्थ सम्बन्धित प्रहरीको जिम्मा लगाई महानगरीय प्रहरी परिसरमा फिर्ता पठाईदिनु हुन समेत अनुरोध छ,’ जिल्ला अदालतको व्यहोरामा भनिएको छ।

तर, उच्च अदालत पाटनले जिल्ला अदालतको आदेश उल्टाउँदै प्याकुरेललाई धरौटीमा छाड्न आदेश दिएको हो। स्रोतका अनुसार प्याकुरेल सेटिङमा प्याकुरेललाई रिहा गर्न अदालतले पैसा खाएको छ।

गुणस्तरहिन सेनिटाइजर बेचेर अकुत सम्पत्ति आर्जन गरेका प्याकुरेललाई उच्च अदालतका न्यायधीशसँग प्याकुरेलका वकिल सानुराज पोखरेलको नजिकको सम्बन्ध रहेको समेत खुलेको छ। वकिलकै जोडबलमा प्याकुरेल छुटेको अदालतमा चर्चा छ।

प्याकुरेल छुटेपछि अनुसन्धानमा संलग्न प्रहरी अधिकारी आफैं अच्चमित भएका छन्। ‘यति छिटो प्याकुरेल भुट्लान भन्ने सोचेको पनि थिइन्,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘अदालतले सेटिङमा नै छुटाएको हो।’

यो पनि पढ्नुहोस्…

‘मेथानोल’ले करोडौं कुम्ल्याउँदा जेल पुगे प्याकुरेल, २६ बर्षिय युवकको धन्दा यस्तो थियो

००००
यसरी दुई नम्बरी धन्दा गरेर उनले सर्वसाधारणको मानव शरीरसँग खेलवाड मात्र गरेका थिएनन्, सानै उमेरमा करोडौंको मालिक भएका प्याकुरेल निशानको एक्स ट्रायल गाडी चढ्छन्। जुन गाडीको नेपालमा करिब डेढ करोड पर्छ। गुगलमा उक्त गाडीको मूल्य १ रकोड ३७ लाख बताइएको छ। उक्त गाडी नेपालमा थोरै मान्छेले मात्र चढ्ने गर्छन्।

अवैधानिक रुपमा विषाक्त स्यानिटाइर कारखाना चलाइरहेको र स्वास्थ्यको मापदड विपरित नक्कली सेनिटाइजर उत्पादन गरी बिक्री वितरण गर्ने ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल, शितल हाइटमा रहेको प्याकुरेलको कारखानामा अपराध महाशाखाको टोलीले छापा मारेको थियो।

कारखानाबाट सेनिटाइजर, सेनिटाइजर उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थलगायतको सामग्रीहरु बरामद गरेको थियो। सोहीदिन महाशाखाले त्रिपुरेश्वरस्थित प्याकुरेलले सञ्चालन गरेको लाइफ लाइन सर्जिक हाउसमा छापा मारेर करिब १ करोड ८० लाख मूल्यको सेनिटाइजर बरामद गरेको थियो।

प्याकुरेलले आरसिबी इन्डष्ट्रिज, पर्सा नामक कम्पनीको ब्यानरमा उत्पादन गरेको ‘७५ प्रतिशत प्लस’ नामको सेनिटाइजरमा २४ प्रतिशत मेथानोल मिसिएको ल्याब परीक्षणबाट पुष्टि भइसकेको छ।

प्याकुरेलको कारखानाबाट ठूलो मात्रामा केमिकल बरामद भएको थियो। जुन सबै विष हुन्। सबै बजारमा बेच्न लैजान ठिक पारिएका थिए। सबै गरी बरामद सामग्री झन्डै दुई करोड मूल्यबराबरको थियो। स्वास्थ्यमा खेलबाड गर्दै यस्ता सामग्री उत्पादन भएको यो अहिलेसम्मकै ठूलो परिमाण पनि हो।

ललितपुर महालक्ष्मी बस्ने सुनसरी रामधुनी नगरपालिका–१ ठेगाना भएका लाइफ लाइन सर्जिकल हाउसका सञ्चालक २६ वर्षीय प्याकुरेलविरुद्ध प्रहरीले कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गत मुद्दा चलाएको थियो।

यसअघि प्याकुरेलमाथि महिला हिंसाको उजुरी परेकोले प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो। उनले आफ्नै श्रीमतीमाथि हिंसा गरेको भन्दै गतवर्ष प्रहरीमा उजुरी परेको थियो।

प्रतिक्रिया