भालुको आक्रमणबाट जुम्लामा श्रीमान-श्रीमती घाइते


जुम्ला – भालुले आक्रमण गर्दा जुम्लामा २ जना घाइते भएका छन्‌।​

चन्दननाथ नगरपालिका-५, कार्कीवाडामा बिहीबार बिहान ४ बजेतिर भालुले आक्रमण गर्दा खलंगा बजारमा व्यवसाय गर्दै आएका हिमराज रोकाया र उनकी पत्नी निर्मला रोकाया घाइते भएका हुन्‌। घाइते दुबैको अहिले कर्णाली स्वास्थ्य विज्ञान शिक्षण अस्पतालमा उपचार भैरहेको छ।

प्रत्यक्षदर्शी देवेन्द्र कार्कीका अनुसार बिहानै उठेर नुहाउने क्रममा धारामै भालुले आक्रमण गरेको थियो। घाइते निर्मला रोकायाको अनुहारमा चोटपटक लागेको छ भने हिमराज रोकायाको टाउको र ढाडमा चोट लागेको स्थानीय युवा धनराज सुनारले बताए।

प्रहरी निरीक्षक युवन चौधरीले बिहानैदेखि भालुको खोजी भइरहेको, तर नभेटिएको बताए। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीलगायतलाई भालु खोजी कार्यमा खटाइएको छ।

बजारमै भालु पसेर आक्रमण गरेको खबरले स्थानीयबासी त्रसित भएका छन्।

प्रतिक्रिया