

प्रधानमन्त्री नियुक्तिको ठ्याक्कै एक महिना, यसकारण मन्त्रिपरिषद विस्तारमा रोकिएका छन् देउवा

काठमाडौं– सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को दाबीका कारण प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद विस्तार गर्न रोकिएका छन्।
आफ्नो पार्टी नेपाली कांग्रेसबाट पनि अब कसलाई मन्त्री बनाउने भन्ने विवाद रहेका कारणले पनि मन्त्रिपरिषद विस्तार हुन नसकेको बताइएको छ। यद्यपि, कांग्रेसबाट देउवाले कनिष्ठहरुको नाम माग गर्ने बताइएको छ।
विहीबार हुने केन्द्रीय समितिको बैठकमा देउवाले मन्त्री बनाउनेहरुको नाम माग गर्नेछन्। कांग्रेसभित्र उनले कुरा टुंगो लगाउने आशा गरिए पनि माओवादी र जसपाको दाबीले उनलाई रोक्ने अनुमान गरिएको छ।
देउवा प्रधानमन्त्री नियुक्त भएको ठ्याक्कै एक महिना पुगेको छ।
माओवादीमा नारायणकाजी श्रेष्ठ वा कृष्णबहादुर महरा कसको नेतृत्वमा मन्त्रिमण्डलमा सहभागी हुने भन्ने विवाद थियो। संविधान मिचेर मन्त्री नबनाउने प्रधानमन्त्री देउवाको अडानले श्रेष्ठलाई रोके पनि महराका हकमा उपप्रधानमन्त्रीको दाबी माओवादीले गरिरहेको छ। तर, देउवा यो सरकारमा उपप्रधानमन्त्री राख्ने मुडमा छैनन्।
जसपाले पनि उपप्रधानमन्त्री दाबी गरेका कारण देउवा कन्भिन्स नभएका हुन्। उक्त पार्टीमा अध्यक्ष उपेन्द्र यादव आफैं नेतृत्वमा सरकारमा जाने तयारीमा रहेका छन् तर उपप्रधान नै नपाउने अवस्था आएपछि मन्त्रिमण्डलमा कनिष्ठतामा जाने या नजाने भन्ने दुविधामा अध्यक्ष यादव रहेको जसपा स्रोतले जनाएको छ।
माओवादीभित्र पनि मन्त्री बन्ने आकांक्षी धेरै जना रहेका कारण अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवालाई नाम दिन सकेका छैनन् भने जसपा आधिकारिकताका बेला सनाखतमा उभिएका महन्थ ठाकुर पक्षका नेतालाई मन्त्री बनाउने या नबनाउने भन्ने विषयमा यादव अन्यौलमा रहेका छन्।
प्रधानमन्त्रीमा विश्वासको मत दिएको नेकपा एमाले माधवकुमार नेपाल पक्ष पनि मन्त्रिमण्डलमा सहभागी हुने पछिल्ला संकेतले पनि देउवालाई कठिन बनाएको छ। एमाले एकताका विषयमा कुरा नमिले नेपाल पक्ष सरकारमा सहभागी हुन सक्नेछ।
यद्यपि नेपाल पक्षका कतिपय नेताले अहिले सरकारमा मन्त्री बन्नका लागि कोही पनि लालयीत नभएको र नजाने बताइरहेका थिए।

