

महाधिवेशनका आफ्नै प्रतिस्पर्धीसँग बालुवाटारमा देउवाले राखेका प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन सम्मुखमा रहेका बेला सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा तीन जना नेतालाई डाकेर भलाकुसारी गरेका छन्।
डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल र युवा नेता गगन थापालाई बालुवाटार बोलाएर देउवाले दुई प्रस्ताव राखेका हुन्।
बरिष्ठ नेता रामचन्द्र पौडेलले तोकिएको मितिमा नै महाधिवेशन हुनुपर्ने भन्दै आफू पक्षीय केन्द्रीय सदस्य र जिल्ला सभापतिहरुको बैठक गरेपछि देउवाले तीनै नेतालाई मंसिरसम्म महाधिवेशन सार्ने प्रस्ताव राखेको स्रोतले जनाएको छ।
पौडेल खेमाको बताइए पनि यसपटकको महाधिवेशनमा देउवाविरुद्ध सभापतिमा डा. कोइरालाले उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।
देउवाले महाधिवेशन सार्ने प्रस्तावसहित मन्त्रिपरिषद विस्तारका क्रममा मन्त्रीका नाम दिन समेत प्रस्ताव गरेको स्रोतले जनाएको छ।
महाधिवेशन सार्ने विषयमा डा. कोइराला सकारात्मक रहेको बालुवाटार स्रोतले जनाएको छ। तर केन्द्रीय समितिको बैठकअघि नै प्रस्ताव तयार पार्दा राम्रो हुने सुझाव डा. रिजालले दिएका थिए।

