सिन्धुपाल्चोक र मनाङमा तत्काल बेलीब्रिज जडान गर्न प्रधानमन्त्री देउवाको निर्देशन


काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरो प्रभावितहरुका लागि राहत, उद्धार र खाद्यान्न अभाव हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को सातौँ बैठकमा प्रधानमन्त्री देउवाले सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्लामा बाढी पहिराले बगाएका पुलहरुका स्थानमा बेलीब्रिज तत्काल सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

यस्तो पुलहरु सञ्चालन गर्न समय लाग्ने स्थितिमा नेपाली सेनामार्फत मोडयुलर यान्त्रिक पुल निर्माणको व्यवस्था मिलाउनसमेत निर्देशन दिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत एवं परिषद्का सदस्यसचिव अनिल पोखरेलले जानकारी दिए ।

बैठकमा बाढीपहिरो र प्राकृतिक विपद्बाट ठूलो क्षति भएको परिस्थितिको समीक्षा गरिनाका साथै मनसुन बाँकी नै रहेको अवस्थामा तीनै तहका सरकार र सबै सुरक्षा निकायको समन्वयमा राहत, उद्धार र खाद्यान्न वितरणको व्यवस्था मिलाउन प्रधानमन्त्री देउवाले निर्देशन दिएका छन् ।

मेलम्ची क्षेत्रमा गेगरानसहितको ठूलो पहिराले भएको क्षति सम्बन्धमा विश्वमा भएका सबै ज्ञान र सीपको प्रयोग गरेर निराकरणको उपाय पहिल्याउने बारेमा समेत छलफल भएको सदस्यसचिव पोखरेलले बताए।

प्रधानमन्त्री देउवाको अध्यक्षतामा सम्पन्न परिषद्को बैठकमा सबै मन्त्रीहरु, मुख्य सचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, चारै सुरक्षा निकायका प्रमुख उपस्थित थिए भने सातै प्रदेशका मुख्यमन्त्री कार्यालय जुममार्फत जोडिएका थिए ।

प्रतिक्रिया