सत्ता पक्षलाई रोष्ट्रममा ओलीका दनकै-दनक, प्रधानमन्त्री देउवासँग मुस्कानपूर्ण जम्काभेट


काठमाडौं– प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभामा सरकार र सत्ता पक्षका दललाई दनकै दनक दिएका छन्।

मंगलबार भएको बैठकमा झन्डै ४५ मिनेटभन्दा बढी सम्बोधन गरेका ओलीले सत्ता गठबन्धन कार्यदलले ल्याएको न्युनतम साझा कार्यक्रममाथि ओलीका टिप्पणी रहेका थिए।

सो क्रममा यसअघि सदनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगो भएको भनी दिएको अभिव्यक्तिमा ओलीले भने,‘यस्ता आगोलाई पानी खन्याएर निभाउन आउँछ। आगो भनेर के डढेलो लगाउँछु भन्न खोजेको हो? हामीलाई पानी खन्याउन आउँछ।’

न्युनतम साझा कार्यक्रममा कांग्रेसको छायाँ नदेखेको बताएका ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार जनादेशले नभई अदालतको परमादेशले आएको पनि टिप्पणी गरे। उनले सदनमै अदालतको असंवैधानिक फैसला गरी यो सरकार बनाएको दाबी गरेका ओलीले भने,‘हामीले फैसला मान्छौं मात्र भनेका छौं, ठिक भनेका छैनौं।’

यता नेपालको मध्य भागमा स्मार्ट सिटी निर्माण गर्ने विषयमा केन्द्रित भएका ओलीले भरतपुरतिर संकेत गर्दै भने,‘कतै त्यो तपाईहरुले मतपत्र च्यातेर जिताएको ठाउँका लागि भनेको त होइन?’

न्युनतम साझा कार्यक्रममा सशस्त्र युद्धका बन्दीलाई रिहाई गराउने र मधेस आन्दोलनका विषयमा असमान विषय राखिएको दाबी गरेका ओलीले भने,‘कतै सत्तामा जान पाइँदैन भनेर गठबन्धनका मान्छेलाई समस्या पो हो कि?’

उनले प्रधानमन्त्री देउवालाई अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा साझा कार्यक्रममा किन नबोलेको भन्दै सोधे,‘यहिँ टेबुलमा छ राख्नुस् प्रस्ताव, १६५ छँदै छ ड्यामड्याम गरी पारित गरे भैहाल्यो नि, किन डराएको?’

ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग भएको दाबी गरी फिर्ता ल्याउँछु भन्न नसकेको सरकारले समस्याका रुपमा राख्नु दुर्भाग्यपूर्ण रहेको पनि दाबी गरे।

रोष्ट्रममा कडा रुपमा प्रस्तुत भएका ओली आफ्ना भनाई सकेर फर्किने क्रममा भने प्रधानमन्त्री देउवासँग मुस्कानपूर्ण जम्काभेट गरेका थिए।

प्रतिक्रिया