सरकारले सोधेको स्पष्टीकरणको जवाफ दिनु परे मैदानमै उत्रिएर दिन्छु : महाप्रबन्धक भट्टराई


काठमाडाैं – नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले सरकारले सोधेको स्पष्टीकरणको जवाफ नदिने बताएका छन् ।

उनले ललितपुरस्थित कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरेका सरकारले आफूलाई राजनीतिक स्पष्टीकरण सोधेको भन्दै त्यसबारे कुनै जवाफ दिन नमिल्ने बताएका छन् । ‘म नेपाल सरकारको कर्मचारी हो । कर्मचारीको हैसियतामा मैले राजनीतिक जवाफ दिन हुँदैन’, उनले पत्रकार सम्मेलनमा भने, ‘कसैको राजनीतिक कुराको जवाफ त मैदानमा उत्रिएर दिने हो, दिनु परेमा मैदानमै झरेर दिन्छु ।’

भट्टराईलाई आचरण विपरीतको कार्य गरेको भन्दै गत १९ साउनको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरणमा सरकाले गर्नुपर्ने काम इमान्दारिताका साथ नगरी नकारात्मक टिप्पणी गरेको आरोप लगाइएको छ ।

सो पस्चात भट्टराईले आफूलाई रेल्वे कम्पनीको महाप्रबन्धकबाट बर्खास्त गर्ने देउवा सरकारको रणनीति अनुसार स्पष्टीकरण सोधिएको पनि तर्क गरेका छन् ।

त्यस्तै उनलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्वद्ध सार्वजनिक निकायको पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड २०७७ को दफा ९ को खण्ड (३) बमोजिम खराब आचरण तथा इमान्दारीपूर्वक काम नगरेको आरोपसहित ‘महाप्रबन्धक पदबाट किन नहटाउने’ भनी स्पष्टीकरण सोधिएको थियो ।

स्पष्टीकरण सोधिएकै दिन भट्टराईले सार्वजनिक रुपमा स्पष्टीकरण सोध्ने सरकारको निर्णयको चर्को आलोचना गरेका थिए । आफ्नो कार्यक्षमता वा कार्य सम्पादनबारे केही नबोली सामाजिक सञ्जालमा लेखेकोबारे स्पष्टीकरण सोधिएकाले त्यसबारे जवाफ नदिने उनले बताएका छन् ।

भट्टराईले रेल कुद्ने अवस्था आइसकेको बेला आफूलाई हटाउन स्पष्टीकरण सोधिएको पनि बताएका छन् । शून्य अवस्थाको रेल्वे कम्पनी अब रेल चलाउन योग्य भएको अवस्थामा आफूलाई हटाउन खोजिएको उनको तर्क छ । उनले यदि आफू रेल्वे कम्पनीबाट हटेमा नेपालमा रेल नै चल्न नसक्ने तर्क पनि गरेका छन् ।

नेपाल सरकारले जनकपुर–जयनगर रेल चलाउन भारतीय कम्पनी कोंकर्ण रेलवे कर्पोरेशनलाई दिएको छ । वार्षिक २२ करोड भारु तिर्ने गरी सम्झौता भइसकेको छ । तर अझै रेल कुद्ने टुंगो छैन । रेलमा ओढाएको बर्षादी पनि च्यातिएर गइसकेको छ ।

प्रतिक्रिया