
सत्ता गठबन्धनप्रति ओली कटाक्ष– सिँगौरी खेल्न आए सिङ भाँचिनेछन्
‘पुरिदेउ रानी पोखरी, भत्काइदेऊ ओली याद आउने सबै चिजहरू’
काठमाडौं– निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा सरकारले गरिरहेका निर्णयहरुमाथि कटाक्ष गरेका छन्।
सोमबार एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा देउवा सरकारले आफ्ना पालाका गरेका निर्णयलाई उल्टाउने काम गरेकोतर्फ संकेत गर्दै ओलीले भने,‘भत्काइदेऊ धरहरा, पुरिदेउ रानी पोखरी, टालिदेउ मेलम्ची, भत्काइदेऊ सडक पुल र बिमानस्थलहरु, ओली याद आउने सबैचिजहरु।’
एक महिनासम्म सरकार विस्तार हुन नसक्दा हिजो आफ्नो पार्टीको समस्याले सदन बिघटन गर्न पाइन्छ? भन्नेहरुको पार्टीको किचलो छरपष्ट भएको ओलीको भनाई थियो। उनको प्रश्न छ,‘के अब आफनो पार्टी र गठबन्धनको समस्याको कारण राष्ट्रको समय बर्बाद गर्न पाइन्छ?’
सरकारको न्युनतम कार्यक्रम एमालेविरुद्ध गाली गलौजको पुलिन्दा रहेको टिप्पणी गर्दै ओलीले असंबैधानिक र अपवित्र नन्दिभृङ्गी जालि झेलीहरुको गठबन्धन रहेको बताए।
सरकारको न्युनतम साझा कार्यक्रममा भ्रष्टाचारीलाई कारबाही गर्ने प्रसङ्गप्रति पनि ओलीको कडा कटाक्ष थियो। उनले भने,‘भ्रष्टाचारीलाई कारबाही गर्ने रे। कयान्टेनमेन्टको भ्रष्टाचार, बिगतको लुट, निजि सम्पति कब्जा, ठेक्का कब्जा छानबिन हुन्छ? वाइडबडी, बालुवाटार जग्गा प्रकरण, सुन तस्करी काण्ड कहिले भए? संलग्न गठबन्धनका नेताहरुलाई कारबाही गर्न सक्नुहुन्छ? कि झुटो मुद्धा लगाएर विपक्षीलाई फसाउने षडयन्त्र गर्ने प्लान हो?’
फसाउने षडयन्त्र भए तमाम देशभक्त लोकतान्त्रिक र प्रगतिशिल शक्तिको सहयोगमा एमालेले प्रतिकार गर्ने बताएका ओलीले भने,‘हाछ्यु खाय बाछ्यु खाय झुसे बारुलो!’
उनले सम्बोधनका क्रममा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशक (एमसीसी)का विषयमा सरकार बोल्न नसकेको विषयलाई पनि व्यंग्यात्मक प्रहार गरेका थिए।
‘एमसीसीको बारेमा किन बोल्न नसकेको?, तपाईंहरुकै पालामा सम्झौंता गरेको होइन? १ सय ६५ को कृत्रिम मतले बिश्वासको मत लिएकै छत पास गर्नु नि किन हामीलाई दोष? हामी त स्पष्ट छौं’, उनले भने,‘हाम्रो पार्टीले बनाएको कार्यदलले दिएको सुझाब र वुद्धिजिबि र बिज्ञहरुले दिएको सुझावहरुको आधारमा जनताको भावनाअनुसार संसोधन सहित पास हुनुपर्दछ। भन्ने हाम्रो मान्यता हो।’
एमाले सदन र सडकमा सशक्त प्रतिपक्षीको भूमिकामा उभिने बताउँदै उनले सत्ता गठबन्धनले सिँगौरी खेल्न आए सिङ भाँचिने चेतावनी दिए।
कालापानी, लिपुलेक लिम्पियाधुरा विषयमा सरकारको साझा कार्यक्रममा उल्लेख भएको शव्दप्रति ओली भन्छन्,‘समस्या भनेर पो आएछ नीति कार्यक्रममा। बिचरा राष्ट्रको यत्रो उपलब्धि कम्फरटेबल गठबन्धनलाई समस्या भएछ।’
उनले एमाले नेता माधवकुमार नेपाल समूहलाई पनि व्यंग्य गरेका छन्। उनी भन्छन्,‘माधव नेपालहरुको बारेमा केही भन्नुछैन। पुष्पकमल दहालसँग मिलर यो पार्टी ध्वस्त पार्न लाग्नुभयो। देउबासँग मिलेर आफ्नो सरकार ढालेर दक्षिणपन्थी गठबन्धन बनाउन लागे।’
उनले अझ जोडे,‘साथीहरु माधवजीलाई केही नभन भन्नुहुन्छ। म भन्न पनि चाहान्न धेरै। साथीहरुले कुरा बुझिसके, सबै फर्कनुहुन्छ। छिटो–छिटो आएर पार्टीलाई गति दिन अनुरोध गर्दछु। तर पार्टी काम रोक्ने गुट र समानान्तर गतिविधि भइरने अबस्था अन्त्यचाहिँ हुनेछ।’



कागजपत्र |
